प्रकृतिको कुचिकारको रुपमा चिनिंदै आएको लोपोन्मुख गिद्धलाई अब कुचिकार नभई "डाक्टर गिद्ध" भन्नुपर्ने सरोकारवालाको भनाई छ। गिद्धले मरेको सिनो खाएर वातावरणको सफाइ मात्रै होइन जैविक प्रणालीलाई समेत स्वस्थ राख्ने भएकाले गिद्धलाई प्रकृतिको डाक्टर भन्नुपर्ने कावासोतीमा १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन भेला भएका सबिन जोशीले आफ्ना धारणा राखे। कार्यक्रममा उपस्थित सरोकारवालाहरुले नेपालमा गिद्धको संख्यामा वृद्धि भए पनि संरक्षणमा अझै चुनौती रहेको निष्कर्ष निकाले। उनिहरुले नवलपुरमा बन्न लागेको नमूना सदरमुकाममा गिद्धको गुँड रहेकोमा त्यसको संरक्षणको जोखिम, गिद्धको वासस्थानको उचित ब्यवस्थापन नहुनु, विद्युतका हाइटेन्सन लाइनका समस्या हुनु जस्ता विषयमा चासो र चिन्ता व्यक्त गरे।
पाकिस्तानका वैज्ञानिकहरुले डाइक्लोफेनिक सोडिएम प्रयोग गरि मरेका पशु चौपायाहरुको सिनो खाँदा गिद्धहरु किड्नी फेल भई मर्ने गरेको तथ्यांक सार्वजनिक गरेपछी नेपाल र भारतमा समेत यो औषधी प्रयोग निषेध गरिए पनि अझै पनि गिद्धहरु मर्ने क्रम नरोकिएको जटायु रेस्टुरेन्ट ब्यवस्थापन समितिका संयोजक डि।वि।चौधरीले बताउनु भयो। उहाँले विकास निर्माण गर्दा सरोकारवालाहरुले गिद्ध र अन्य प्रजातीका चराहरुको बारेमा नसोच्दा संरक्षणमा चुनौती थपिएको बताउनु भयो। पछिलो बर्ष केही महिनाकै अन्तरालमा कावासोती आसपासमा २१ ओटा गिद्ध मरेपछी सो मरेका गिद्धको स्याम्पल पठाईए पनि यकिन कारण सहित आजसम्म पनि नतिजा नआएकाले गिद्ध के कारणले मरे भनेर पत्ता लगाउन नसकिएको चौधरीको भनाई छ।
गिद्ध संरक्षणका लागि समुदायस्तरकै सक्रियतामा सन् २००६ मा स्थापना भएको कावासोती १३ स्थित जटायु रेस्टुरेन्ट ब्यवस्थापन समितिमा सुरुवाती अवस्थामा ७२ ओटा मात्रै गिद्ध रहेकोमा हाल सो संख्या बढेर ५ सय ११ पुगेको छ। नवलपुरलाई गिद्ध संरक्षणको अब्बल जिल्लाका रुपमा चिनिन थालेको छ। हाल नवलपुरको अंकुर सामुदायिक वनमा २, गुन्द्रही ढकाहा मध्य्वर्ती सामुदायिक वनमा ५२, ज्योतिकुञ्ज सामुदायिक वनमा ११, कृष्णसार मध्यवर्ती सामुदायिक वनमा १०, नमूना मध्यवर्ती सामुदायिक वनमा २६ र रकुवामा ५ गरि १ सय १३ ओटा गिद्धका गुँड फेला परेको जटायु रेस्टुरेन्टको गत बर्षको अध्ययनले देखाएको छ।
नेपाल सरकारले गिद्धको संरक्षणका लागि सन् २००८ मा चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध संरक्षण तथा प्रजनन् केन्द्र स्थापना गरेको थियो। त्यसको ९ बर्षपछि सन् २०१७ बाट गिद्धको स्वास्थ्य परिक्षण तथा स्याटलाइट जडान गरिएको छ। हाल नेपालमा बीस हजारको संख्यामा विभिन्न प्रजातीका गिद्ध रहेको सरकारी तथ्यांक छ।
१६ औं गिद्ध सचेतना दिवस मनाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले कावासोतीलाई नमूना सदरमुकाम मात्र नभई नेपाल मै गिद्धको सदरमुकाम बनाउनुपर्ने बताउनुभयो। उहाँले केही दिन अघि मात्रै नमूना सदरमुकाम निर्माणस्थलमा राष्ट्रिय योजना आयोगका पदाधिकारी सहित स्थलगत अनुगमन गर्दा अत्यावश्यक बाहेक कुनै रुख नकाटिने सहमती भएको बताउनुभयो। कार्यक्रममा कावासोती नगरपालिका वडा नं ३ का वडाध्यक्ष डोरमान गिरीले आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण जटायु रेस्टुरेन्ट ब्यवस्थापन समितिका सहसचिव उत्तम लामिछानेले गर्नुभएको थियो।