देवचुली
घुमाउरी सामुदायिक बन उपभोक्ता समिति देवचुली ९ को आयोजना सँगै देवचुली ९ को वडा कार्यालयको आर्थिक सहयोगमा वडा स्तरीय खुला तीज गीत प्रतियोगिता २०८१ सम्पन्न भएको छ।
देवचुली ९ मा रहेको कालिका माध्यमिक बिधालयको प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको हो। हिन्दु नारी हरूको महान् पर्व हरितालिका तिजको अवसरमा आयोजित प्रतियोगितामा सहभागी समुहहरुले बन संरक्षण सम्बन्धी सचेतनामूलक तिज गीत प्रस्तुत गरेका थिए।
बनका कोषाध्यक्ष सोमबहादुर सेन्चुरीको स्वागत मन्तव्य रहेको कार्यक्रममा घुमाउरी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष पार्वती रावलको अध्यक्षता सँगै देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। ४ वटा समुहको सहभागिता रहेको कार्यक्रमलाई बनका कार्यालय सचिव उमा घर्ती मगरले सहजीकरण गर्नुभएको थियो।
साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ सहित लोक गायकद्वय युवराज भुसाल र गणेश बिकको तिन सदस्यीय निर्णायक रहेको प्रतियोगितामा बिशालटार कृषक समूह प्रथम , कालिका मावि द्वितीय र गण्डकी आमा समूह तृतीय भएका छन्। कार्यक्रममा प्रथम , द्वितीय र तृतीय हुने समुहहरुले नगर र प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले पछिल्लो समय बजारमा आएका नयाँ तीजका गीतहरू भड्किलो बन्दै गइरहेको अवस्थामा यसरी मौलिक तिज गीत सुन्न पाउँदा खुसी लागेको बताउनुहुँदै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
सोही अवसरमा बनका अध्यक्ष पार्वती रावलले यसरी तिज गीत प्रतियोगिताको आयोजना गर्दा महिला दिदीबहिनीहरूको प्रतिभा प्रस्फुटन सँगै चाडपर्वको महत्व बढेर जाने कुरामा आफू विश्वस्त रहेको बताउनुहुँदै सम्पूर्णलाई तिजको शुभकामना व्यक्त गर्नुभएको थियो।