देवचुली
जन ज्योति नमुना मावि देवचुली १४ को खेल मैदानमा सञ्चालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा आज आइतबार सम्पन्न खेलमा जित निकाल्दै रजहर फुटबल क्लब, योङ्ग ब्वाइज चितवन र प्रगति कला मन्दिर युवा क्लब अर्को चरन प्रवेश गरेको छ।
आजको रजहर फुटबल क्लबले धौलागिरी युवा क्लबलाई ट्राइबेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै अर्को चरण प्रवेश गरेको हो।
यो सँगै योङ्ग ब्वाइज चितवनले लक्ष्मीपुर युवा क्लबलाई ३-१ गोल अन्तरले र प्रगति कला मन्दिर युवा क्लबले मातृभूमि युवा क्लबलाई ३-१ गोल अन्तरले पछि पार्दै अर्को चरणमा प्रवेश गरेको आयोजकका तर्फबाट राकेश बिकले हेर्नेपाटीलाई बताएका छन्।
महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा प्रगति कला मन्दिर युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार प्रत्येक खेलको म्यान अफ दि म्याच सहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको छ ।
देवचुली स्केट हाउसको प्रायोजनमा प्रगति कला मन्दिर युवा क्लबले भाद्र ९ गते देखि २१ गते सम्म आयोजना गरेको तिज विशेष कार्यक्रम २०८१ मा प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिताको साथमा प्रथम खुल्ला भलिबल प्रतियोगिता , वडा स्तरीय तीज गीत प्रतियोगिता , ठेला प्रतियोगिताको साथमा विविध सांस्कृतिक कार्यक्रमहरू हुनेछन् ।