देवचुली
गैंडाकोट इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत सचिन पौडेलले माई एक्सपेरियन्स वाज 'मुन्टास्टिक' भन्दा विश्वज्योतिको सभाहल हाँसोले गुञ्जयमान बन्यो ।
विश्वज्योति माध्यमिक विद्यालय प्रगतिनगरमा हिजो र आज (भदौ १४ र १५ गते) सञ्चालन गरिएको "प्याब्सन नवलपुर मोडल युनाइटेड नेसन्स" कार्यक्रमको अनुभव साट्न स्टेजमा आएका पौडेलले दुई दिने सिकाईलाई मुर्तरुप दिंदै सिकाई उपलब्धिमुलक भएको भन्दै फेन्टास्टिक भएको बताए ।
फेन्टास्टिकलाई मोडल युनाइटेड नेसन्स "मुन"सँग जोड्दै उनले कार्यक्रम मुन्टास्टिक भएको बताएका हुन् । उनले प्रशिक्षकहरुले सहभागी प्रशिक्षार्थीहरुलाई निकै अनुशासनपूर्वक तथा गहन ढंगले प्रशिक्षण गराएको बताउँदै आफ्ना प्रशिक्षहरुलाई ह्यासट्याग कुल (#cool), ह्यासट्याग हम्बल (#humble), ह्यासट्याग सपोर्टिभ (#supportive) भन्दै धन्यवाद ज्ञापन गरे ।
उनी त एक प्रतिनिधि विद्यार्थी मात्र हुन् । कार्यक्रममा गैंडाकोट इङ्लिस स्कुलका साथै स्मल हर्ट एकेडेमी, मध्यबिन्दु स्काइलाइन स्कुल, नवलपुर एकेडेमी, बालबिकास इङ्लिस बोर्डिङ्ग स्कुल र आरम्भ एकेडेमीका विद्यार्थीहरुले खुसी हुँदै आफ्ना अनुभव सुनाएका थिए। शनिबार सम्पन्न कार्यक्रमको समापन समारोहमा विभिन्न विषयलाई प्रतिनिधित्व गरि उत्कृष्ट बनेका विद्यार्थीहरुले सिकाई अनुभव र मोडल युनाइटेड नेसन्स कार्यक्रम आँफूहरुका लागि नयाँ भए पनि सुरुवातमा डर र अन्त्य हुँदा आनन्दको अनुभुति भएको कुरा साझा गरे ।
सो अवसरमा विद्यार्थीहरुलाई दुईदिनसम्म प्रशिक्षण गरि सामुहिक सहकार्य, खोज, अध्ययन अनुसन्धानका लागि मार्गनिर्देशन गरेका प्रशिक्षकहरुले आ-आफ्नो समूहका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई हौसला प्रदान गर्दै पुरस्कृत समेत गरे। समापन कार्यक्रममा प्याब्सन नवलपुरका उपाध्यक्ष तथा आतिथ्य विद्यालयका प्रिन्सिपल डा.प्रदीप बास्तोलाले कार्यक्रम समापन नभई प्याब्सन नवलपुरको "मुन" कार्यक्रम सुरुवात गरिएको बताउनुभयो।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष भिमलाल कंडेलले कार्यक्रमले विद्यार्थीहरुको सिकाई क्रियाकलाप वृद्धि हुने बताउँदै प्याब्सनले यस्ता प्रकृतिका कार्यक्रमहरु निरन्तर गरिरहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सन नवलपुरका अध्यक्ष दीपक रावतले मोडल युनाइटेड कार्यक्रम सुरुवात गर्दा आँफू निकै चिन्तित भए पनि कार्यक्रमको समापनसँगै पुन: कार्यक्रमलाई अगाडी बढाउन हौसला प्राप्त भएको बताउनुभयो।
युथ थिंकर्स सोसाइटी चितवनको अग्रसरतामा सम्पन्न भएको मोडल युनाइटेड नेसन्स कार्यक्रममा जिल्लाका ३६ संस्थागत विद्यालयका १ सय २४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।