देवचुली
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा देवचुली नगरपालिकाको आयोजनामा देवचुली नगरपालिका स्तरीय विद्यालय तहको प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम २०८१ आज शुक्रबार सम्पन्न भएको छ ।
विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटनका निम्ति आयोजना गरिएको कार्यक्रममा माध्यमिक तह ( कक्षा ९ - १० ) को लागी निबन्ध लेखन प्रतियोगिता , आधारभूत तह ( कक्षा ६-८ ) को लागी बाल कथा रचना प्रतियोगिता र आधारभुत तह ( कक्षा १-५ ) को लागी हस्तलेखन प्रतियोगिता आयोजना गरिएको थियो ।
जनज्योति नमुना माविको सभाहलमा सम्पन्न कार्यक्रममा निबन्ध लेखन प्रतियोगितामा १७ जना , बाल कथा रचना प्रतियोगितामा २० जना र हस्तलेखन प्रतियोगितामा ३१ वटा विद्यालयले सहभागिता जनाएको थियो ।
देवचुली नगरपालिका भित्र रहेका विद्यालयहरूको बिचमा आयोजित आधारभूत तह (कक्षा १-५) को लागी सञ्चालित हस्तलेखन प्रतियोगितामा जनज्योति मा.वि., देवबुली-१५ कि मानवी पाण्डे प्रथम, भीमसेन आदर्श मा.वि. देवचुली ७ का भिसान थापा द्वितीय र अमर इंङ्गलिस बोर्डिङ स्कुल देवचुली १६ का बिपेन बिक तृतीय हुन सफल भएका छन् l
यता आधारभूत तह ( कक्षा ६-८ ) को बाल कथा रचना प्रतियोगिता तर्फ दिव्य एकेडेमी देवचुली १ की आकृति भण्डारी प्रथम , नेपाल मा.वि. देवचुली १ की सदीक्षा सिग्देल द्वितीय र भीमसेन आदर्श मा.वि देवचुली ७ की मेलिस्का काफ्ले तृतीय हुन सफल भएका छन् भने माध्यमिक तह ( कक्षा ९-१० ) को निबन्ध लेखन प्रतियोगितामा भीमसेन आदर्श मा.वि देवचुली ७ की खिम कुमारी घर्ती प्रथम , नेपाल मा.वि. देवचुली-१ का आर्जन अधिकारी द्वितीय र जनज्योति मावि देवचुली १५ की प्राप्ति काफ्ले र जन ज्योति नमुना मावि देवचुली १४ का छविलाल घर्ती मगर तृतीय भएका छन् l
बिजयी हुने सम्पूर्ण विद्यार्थी तथा विद्यालयहरूलाई राष्ट्रिय शिक्षा दिवस समारोहमा पुरस्कार वितरण गरिनेछ l देवचुली नगरपालिकाको शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माको अध्यक्षता सँगै देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितात्मक कार्यक्रममा डा धनपति कोइराला , एकराज शर्मा र रिता न्यौपाने लगायत मूल्याङ्कनकर्ताको रुपमा रहेका थिए ।
कार्यक्रममा नगर शिक्षा समिति सदस्य सन्त बहादुर क्षेत्री , जनज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीधर ज्ञवाली , पत्रकार सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।