सुनिता शर्मा,
मध्यविन्दु नगरपालिकाले शैक्षिक सत्र २०८१ बाट हाम्रो खुसी पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । पाठ्यक्रमको आधारमा निर्माण भएको शिक्षक हाते पुस्तकको शनिबार प्रमुख अतिथि नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहित जिल्लाका वर्तमान तथा पूर्व सांसदहरुले शुभारम्भ गर्नु भएको हो ।
विमोचन समारोहमा बोल्दै मन्त्री भट्टराईले नेपालको शिक्षा कस्तो हुने भन्ने बहस कम भइरहेको अवस्थामा मध्यविन्दु नगरपालिकाले हातेपुस्तक प्रकाशन गर्नु सुखद पक्ष भएको बताउनुभयो । खुसी पाठ्यक्रमले भनेजस्तै खुसी आफु भित्रै हुने बताउँदै भट्टराईले विद्याथीहरुलाई आफुभित्रको खुसी पहिचान गर्न शिक्षक तथा अविभावकले मदत गर्नुपर्नेमा जोड दिनुभयो ।
समाजमा बढ्दै गइरहेको नैरस्यता, द्धन्दको स्थिती, सामाजिक र राजनितिक मतभेद दुर गर्नको लागि पाठ्यपुस्तकले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मानिस सबै कुरा गुमाउदा पनि खुसि भएर हिड्नसक्ने क्षमता वर्तमान शिक्षाले प्रदान गर्नुपर्ने उहाँको भनाई छ । समाज कता जाने, नेपालको राजनिति कता जाने, स्वास्थ र रोजगार कस्ता हुने भन्ने कुरा पनि शिक्षाले नै निर्धारण गर्ने हुँदा शिक्षालाई बलियो बनाउनु अहिलेको आवस्यकता औँल्याउनुभयो ।
पूर्व सांसद तिलक महतले मध्यविन्दु नगरपालिकामा शुरुवात भएको नवितम् कार्यलाई क्रमशः अन्य पालिकाहरुमा समेत कार्यान्वयनमा लैजान सुझाव दिनु भएको थियो ।
मध्यविन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले नगरपालिकाले शिक्षाको क्षेत्रमा देशभरिमै नविनतम सुरुवात गरेको र यसलाई अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । खुसी कहाँबाट पाउन सकिन्छ भन्ने कुरा पछिल्लो समय खोजिको विषय भएकाले आफुहरु दिल्लीसम्म पुगेर अध्यन गरि नगरपालिकामा विभिन्न चरणमा खुसी शिविरहरु समेत संचालन गरेको बताउनुभयो । अधिकारीले शिक्षाको क्षेत्रमा नयाँ कार्यको रुपमा प्रयोगमा ल्याएको यस पाठ्यक्रमलाई व्यवस्थित र उपलब्धी मुलक बनाउन तर्फ सबै नगरपालिका टिम क्रियाशिल रहेको बताउनुभयो । खुसी बढाउन सिकाउने कार्यक्रम तत्कालको लागि कक्ष १ देखि ८ सम्म लागु गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका महासंघका महासचिव एवम् कालिगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापाले हाम्रो खुसी कार्यक्रमसंग आफु प्रभावित भएको उल्लेख गर्नुभयो । यहाँ भएको अभ्यासलाई अनुशरण गरेर कालिगण्डकी गाउँपालिकामा समेत आगामी शैक्षिक शत्रदेखि हाम्रो खुसी पाठ्यक्रम लागु गर्ने उहाँले बताउनुभयो ।
देवचुली नगरपालिकाका प्रमुख हरि प्रसाद न्यौपानेले हाम्रो खुसी पाठ्यक्रमबाट मध्यविन्दु नगरपालिकामा प्राप्त हुने सिकाई उपलब्धीलाई देवचुलीमा समेत कार्यान्वयनमा लैजान आफहरु सकारात्मक रहेको बताउनुभयो ।
‘हाम्रो खुसी’ पाठ्यक्रम निमार्ण गर्न गण्डकी प्रदेश सरकार नवपर्वतक कार्यक्रम अन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रुपियाँ रकम प्राप्त भएकोे मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाले २०७९ साल माघबाट हाम्रो खुसी पाठ्यक्रम निर्माणको काम शुरुवात गरेको बताउनुभयो । हाम्रो खुसी पाठ्यक्रम अनुसार निर्माण भएको शिक्षक हाते पुस्तकको सहयोगमा कक्षागत खुसी शिक्षकले विद्यार्थीहरुलाई हाम्रो खुसी अध्यापन गराउने जनाईएको छ ।