काठमाडौँ/
मुग्लिन–पोखरा सडकखण्ड अन्तरगत तनहुँ घाँसीकुवाको पहिरो हटाउन आज बिहानबाट थालिएको छ । पहिरो ठूलो भएकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान छ ।
बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो झरेको थियो । प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् ।
‘चिनियाँ कम्पनीले आफ्ना एक्स्काभेटर र नेपाली सेनाले चेन कटर प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाइरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी गौतमले भने, ‘पहिरो पन्छाइसक्न आज दिनभरी नै लाग्ला जस्तो देखिन्छ ।’
वैकल्पिक सडक प्रयोग गर्न आग्रह
पहिरोले मुख्य सडक बन्द भएपछि साना तथा ठूला सवारी साधनहरुलाई अलग(अलग वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायका अनुसार साना तथा मझौला सवारी साधनहरुलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किन भनिएको ।
यसैगरी घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिन्छ ।
ठूला सवारी साधनहरुलाई भने डुम्रे–बेसीशहर सडकखण्ड प्रयोग गरेर पोखरा आउ–जाउ गर्न भनिएको छ ।