देवचुली,
कक्षा १२ को बोर्ड परीक्षा २०८० मा जिल्ला प्रथम भीमसेन आदर्श नमूना मा.विकी छात्रा रुषमा थापा क्षेत्री र जनज्योति मा.विको कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्याथीलाइ सम्मान गरिएको छ । बुधबार जनज्योति आदर्श बहुमुखी क्याम्पसले एक कार्यक्रमको आयोजना गरि बधाई, शुभकामना तथा विद्यार्थीलाई सम्मान गरेको हो । व्यवस्थापन संकायमा ३.८३ जिपिए ल्याएकी जिल्ला प्रथम भीमसेनकी रुष्मा थापा क्षेत्री, ३.५४ जिपिए ल्याउने जनज्योतिकी सन्ध्या श्रेष्ठ, एजुकेशन तर्फ ३.४३ जिपिए ल्याउने भीमसेनकी सुस्मिता कार्की र ३.३४ जिपिए ल्याउने जनज्योतिकी दिलमाया पाटालाई क्याम्पसले सम्मान गरेको हो ।
जनज्योति आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमनाथ जैसीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका संस्थापक नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्नो कार्यकालमा यस क्याम्पसलाई धेरै सहयोग गरेको बताउँदै यस क्याम्पसलाई अगाडि बढाउन, यसको भौतिक संरचना निर्माणका लागि अझै धेरै सहयोगको आवश्यक रहेको बताउनुभएको थियो । साथै उहाँले उत्तीर्ण विद्यार्थीलाई अबको नयाँ गन्तव्यका लागि सहि निर्णय लिन आवश्यक रहेकाले आफ्नो नजिकै रहेको क्याम्पसलाई छनोट गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली वडा नं १० का वडाध्यक्ष रेप्ती कुमार घर्तीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसका सह प्राध्यापक निलकण्ठ पराजुलीले क्याम्पसका विभिन्न गतिविधिका बारेमा र आगामी लक्ष्यका विषयमा जानकारी गराउनुभएको थियो । क्याम्पसले परिवर्तित परिवेश अनुकूल साधारण, व्यावसायिक तथा प्राविधिक शिक्षा प्रदान गर्ने, गुणस्तरीय शिक्षाका माध्यमबाट राष्ट्रको शैक्षिक लक्ष्य पूरा गर्न मद्धत गर्ने, युवापुस्तामा देखिएका नयाँ सृजनशील प्रतिभालाई उजागार गर्ने, अनुसन्धानमूलक शैक्षिक पद्धतिको विकास गर्ने र देशकै उत्कृष्ट सामुदायिक क्याम्पसका रुपमा संचालन गर्ने क्याम्पसको लक्ष्य रहेको बताउनुभएको थियो ।
जनज्योति आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष ठाकुर प्रसाद शर्माले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमनाथ जैसीले अध्ययनकै लागि विदेशीन परेपनि विद्यार्थीलाई नेपालमा नै स्नाकोत्तर गर्न आग्रह गर्नुभएको छ । उहाँले जनज्योति क्याम्पसले बुहारी शिक्षा, छोरी शिक्षा ल्याएकाले कक्षा १२ पश्चात् आफ्नो अध्ययनलाई अगाडि बढाउन नसकेका छोरी बुहारीलाई पनि भर्ना हुन अनुरोध गर्नुभएको थियो ।
क्याम्पसले अन्तिम आन्तरिक परीक्षामा सबै तहमा प्रथम हुने विद्यार्थीलाई ३ महिनाको मासिक शुल्क, द्धितीय हुने विद्यार्थीलाई २ महिनाको मासिक शुल्क र तृतीय हुने विद्यार्थीलाई १ महिनाको मासिक शुल्क छात्रवृत्ति स्वरुप प्रदान गरिने क्याम्पस प्रमुख पशुपति भट्टराईले बताउनुभएको छ । वि.वि.एस प्रथम वर्षमा मनिषा कंडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहजीकरण क्याम्पसका प्राध्यापक सोम सुवेदीले गर्नुभएको थियो ।