नवलपुर/
नवलपुरमा गएरातीदेखि निरन्तर वर्षा भइरहेको छ । लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बौदीकालि गाउँपालिकाका वडा नं. ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । लगातार पानी परिरहेकाले पानी रोकिएपछि मात्र सडक मर्मतको काम सुरु हुने पौडेलले बताए ।
नवलपुरको डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । डण्डा क्षेत्रमा पछिल्लो ६ घण्टामा १६४.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।
यसैगरी पाल्पाको अर्चलेमा पछिल्लो ६ घण्टामा ११२.६ मिलिमिटर, चितवनको देवघाटमा १०४.६ मिलिमिटर, चितवनको शक्तिखोरमा १०४.८ मिलिटिर वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यहाँ थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
लगातारको वर्षाका कारण नवलपुर भएर बग्ने नारायणी नदी, केरुङ्गे खोला, झहरे खोला, बहुलाह खोला, पत्थर खोला, लोकाहा खोला, अरुण खोला लगायतका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।