देवचुली,
सडककै दुरावस्थाका कारण सिजी गेट अगाडि गत साउन २८ गते टाउकोमा ढुङ्गाले लागेर घाइते भएकी महिलाको मृत्यु पश्चात् उनको परिवारलाई क्षतिपूर्ति दिलाउन सडक आयोजना सकारात्मक भएको छ । आइतबार देवचुली नगरपालिकामा जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सडक आयोजना प्रमुख र स्थानीय बिच छलफल भएको छ । चाइना स्टेट कन्स्ट्रक्सनले समयमा बाटो निर्माण नगर्दा प्रत्येक दिन साना तथा ठूला दुर्घटना भएको भन्दै स्थानीयले शनिबार करिब ४ घण्टा पूर्व–पश्चिम राजमार्ग चक्काजाम गरेका थिए ।
उक्त विषयमा आइतबार पुनः देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीको कार्यकक्षामा छलफल गरि दुई वटा निर्णय गरिएको छ । निर्णयमा दलदले एन.आई.सी. एसिया बैंक देखि रजहर सम्म सडक मर्मत गर्ने, सडकमा रहेका ढुङ्गा हटाउने, निर्मित पुलहरु सुचारु गर्ने लगायतका कार्यहरु तत्काल (३ दिन भित्र) शुरु गर्ने । उक्त खण्डको सडकलाई प्राथमिकतामा राखी वर्षातपछि कालोपत्रे गर्दा सो खण्डबाट शुरुवात गर्ने र मृतकका परिवारलाई राहत–क्षतिपूर्ति उपलब्ध गराउन सडक निर्माणका लागि गरिएको वीमा पोलिसी अनुरुप सडक आयोजना कार्यालयले पहल गर्ने उल्लेख छ ।
देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले निर्णय गरिए अनुसार कम्पनीले तत्काल कार्य नगरे आन्दोलनका लागि सडकमा जनतासँग उत्रिने चेतावनी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक अधिकृत मुक्तिराम रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक वेदबहादुर पौडेल, नारायणगढ–बुटवल सडक आयोजनाका पूर्वी खण्डका प्रमुख आशिष थापा, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिल प्रसाद काफ्ले, वडा नं १, २, ३, १० र १३ का वडाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य सरस्वती पाठक, देवचुली होटल व्यवसायी संघका पदाधिकारी, टोल सुधार समितिका पदाधिकारी, स्थानीय र पत्रकार लगायतको उपस्थितिमा छलफल गरिएको थियो ।