देवचुली,
देवचुली नगरपालिका वडा नं १५ मा रहेको विश्वज्योति माध्यमिक विद्यालयमा स्क्रेवल प्रतियोगिता सम्पन्न भएको छ । अक्षर मिलाएर शब्द बनाई खेलिने खेल स्क्र्याबल प्रतियोगिता देवचुलीमा सम्पन्न भएको छ ।
नवलपुरको देवचुली नगरपालिकामा रहेको विश्वज्योति माध्यमिक विद्यालयमा शनिबार भएको जिल्लास्तरीय स्क्र्याबल प्रतियोगितामा देवचुलीको विश्वज्योति माध्यमिक विद्यालय प्रथम भएको छ ।
जिल्लास्तरीय प्रतियोगिताबाट विश्वज्योति मा.विबाट प्रनिस बास्तोला, गैँडाकोट ईङ्लिस बोर्डिङ्ग स्कुलका सचिन पौडेल, गण्डकी सेकेण्डरी इङ्ग्लिस बोर्डिङ्ग स्कुलका आरुष भण्डारी, सरस्वती निकेतन सेकेन्डरी इङ्ग्लिस बोडिङ्ग स्कुलका अमृत कुवँर , लुम्बिनी आवासीय माविका प्रीष्का गुरुङ्ग, बालविकास इङ्ग्लिस बोर्डिङ्ग स्कुलका रिजन रेग्मी मगर, थुम्की देवि ब्राइट फ्युचर इङ्ग्लिस बोर्डिङ्ग स्कुलका दिप्सन गैरे र सिद्धार्थ शान्ति निकेतन स्कुलका दिक्पाल कार्की लगायतका गरि उत्कृष्ट ८ जना विद्यार्थी छानिएका छन् । ती विद्यार्थीले गुल्मीमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगितामा विश्वज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोति अर्यालको अध्यक्षता तथा प्याब्सन नवलपुरका अध्यक्ष दीपक रावतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । स्क्र्याबल प्रतियोगितामा नवलपुर जिल्लाका २० वटा विद्यालयका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा २० मिनेटको ६ राउन्ड खेल खेलाइएको थियो । प्रतियोगितामा टेक्निकल कोर्डिनेटर अर्जुन पाण्डे निर्णायक हुनुहुन्थ्यो । उहाँले खेलको नियमबारे जानकारी दिनुभएको थियो ।
प्रतियोगितामा बोल्दै गैँडाकोट इङ्ग्लिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक एवम् स्क्रयावल क्लबका सल्लाहकार हिरालाल अर्यालले विद्यार्थीको व्यक्तित्व विकासमा यस खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै जिल्लामा केही वर्ष पहिले यस खेलका लागि न्यून विद्यार्थीहरू सहभागी हुँदै आएको स्मरण गर्दै पछिल्लो समय यस प्रति विद्यालय र विद्यार्थी दुवैले चासो देखाउने गरेको बताउनुभयो ।
यस्तै प्रमुख अतिथि रहनुभएका प्याब्सन नवलपुरका अध्यक्ष दीपक रावतले यस्ता प्रतियोगितामा प्रतिष्पर्धा भन्दा पनि विद्यार्थीले सहभागिता जनाउनु नै महत्वपूर्ण विषय रहेको बताउँदै राष्ट्रिय प्रतियोगितामा छनोट भएका सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विश्व ज्योति माविका प्रधानाध्यापक डा. प्रदिप बास्तोलाले स्क्रयावल खेल प्रति आफ्ना विद्यालयका विद्यार्थीहरू उत्साहित भएको देख्दा अत्यन्त खुशी लागेको बताउँदै सम्पूर्ण विद्यालयलाई यस खेलका लागि विद्यालयमा वातावरण सिर्जना गरि विद्यार्थीहरूको क्षमतालाई अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।
विद्यालयका संस्थापक प्रधानाध्यापक विष्णु बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका प्रोग्राम कोर्डिनेटर डा. चन्दा बास्तोलाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नवलपुर जिल्लाका विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीको सहभागिता रहेको थियो ।