देवचुली,
"ग्याजेटसँगै ग्रो" गरिरहेका वर्तमान पुस्ताका बालबालिकाहरूलाई समाज चिनाउन र नेपाली समाजको इतिहास दर्शाउन विद्यार्थीहरूको लागि नवलपुरको देवचुलीमा रहेको दिव्य एकेडेमीले "उहिले हाम्रो पालामा" कार्यक्रम सञ्चालनमा ल्याएको छ।
नैतिक शिक्षा, संस्कार र पुराना भोगाइको त्रिवेणी नाम दिएर विद्यालयले आन्तरिक कार्यक्रम अन्तर्गत हरेक महिनाको अन्तिम शुक्रबार समाजका लब्धप्रतिष्ठित र विभिन्न क्षेत्रमा अनुभव सँगालेका पुराना पुस्ताका दिग्गज व्यक्तिहरूलाई विद्यालयमा उपस्थित गराई विद्यार्थीहरूलाई नैतिक शिक्षा, समाजको बनावट, धर्म, संस्कृति, कला, साहित्य, संस्कार र विशेष गरी पुराना पुस्ताका अनुशासन र अनुभवलाई विद्यार्थी माझ पुर्याउन यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कोपिला भण्डारीले बताउनुभयो। उहाँले वर्तमान पुस्ताका विद्यार्थीहरूमा किताबी ज्ञान भएपनि संस्कार र अनुशासनका लागि पुराना पुस्तासँगको सम्बन्ध सेतु स्थापना गर्नुपर्ने अहिलेको पठन क्रियाकलापको मुख्य अंश भएको बताउनु भयो ।
विद्यालयका निर्देशक तुलमणि (टिएम) पौडेलले विद्यार्थी भाइबहिनीहरूको मनोविज्ञान र मनोभावनालाई पुराना पुस्तासँग जोड्दा पुस्ता हस्तान्तरण मात्र नभई पुस्तासँगै सिप, संस्कार र संस्कृति पनि सबल ढंगले हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो। विद्यार्थीहरुलाई समाजप्रति उत्तरदायी बनाउँदै सक्षम विद्यार्थी उत्पादन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।
उहिले हाम्रो पालामा कार्यक्रमको पहिलो अतिथिको रूपमा केउरेनी निवासी भूतपूर्व शिक्षक एवं नाट्यकर्मी लक्ष्मीप्रसाद पौडेल रहनुभएको थियो । पौडेलले दिव्य एकेडेमीका विद्यार्थी भाइबहिनीहरूलाई वि.सं. २०२२ सालमा बर्माबाट नेपाल आएर साविक प्रगतिनगर र अमरापुरी क्षेत्रमा बसोबास गरेका बर्मेली नेपालीहरूको जीवन भोगाई र उबेलाका दुःख कष्टसँगै विद्यार्थीहरुले आफ्ना अग्रजहरुलाई गर्नुपर्ने सहयोग, सम्मान र सद्भावको बेली विस्तार सुनाउनुभयो ।
उहाँले विद्यार्थी उमेरमा विद्यार्थीहरूले गर्नुपर्ने कर्तव्य र समयक्रमसँगै उमेर बढ्दै जाँदा एक व्यक्तिले पालन गर्नुपर्ने अनुशासन र दायित्वबोधका बारेमा सरल ढंगले आफ्ना विचारहरु विद्यार्थी माझ राख्नुभयो ।
विद्यालयमा उहिले हाम्रो पालामा कार्यक्रम सञ्चालन गरी किताबभन्दा पर रहेर इतिहास पढ्न र बुझ्न पाएकोमा विद्यार्थीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरुले विद्यालयले सिकाई शिक्षालाई पृथक र नवीन ढङ्गले प्रस्तुत गरेकोमा विद्यालयलाई धन्यवाद समेत दिएका थिए। विद्यालयमा सुरु भएको उहिले हाम्रो पालामा कार्यक्रमलाई लिएर विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु पनि यस किसिमको कार्यक्रमले सिकाई शिक्षणमा सहजता प्रदान विश्वास दर्शाउनुहुन्छ।