चितवन/
१३औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । हिजो चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालेका हात्तीलाई वनभोज खुवाएको हो । वनभोजमा हात्तीलाई मन पर्ने परिकार उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार बनेको थियो ।
युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजीस्तरमा पालेका ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षणसम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले जानकारी दिनुभयो ।
बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजीस्तरमा पालेका र निकुञ्जका हात्तीलाई एकै ठाउँमा राखेर वनभोजका रूपमा मिष्ठान्न भोजन गराइएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनुभयो । उहाँले हात्ती सफारीको विकल्प स्वरुप हात्तीसँग पैदलयात्र शुरु गरको भन्दै अझै केही समय हात्ती सफारीको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताउनुभयो । उहाँले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पत्तिका रूपमा ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती र मानब बीचको द्वन्द्वका कारण संरक्षणमा चुनौती थपिएको भन्दै हात्तीको कारणले विपन्न समुदायको जीविकोपार्ननमा परेको सकारात्मक प्रभावलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।
चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा सात वटा र सौराहामा निजीस्तरमा पालेका ४५ वटा हात्ती छन् । हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय हात्ती दिवस मनाउँदै आइएको छ ।