देवचुली,
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देवचुलीमा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सोमबार देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा जनज्योति नमूना मा.विमा प्रतियाेगिता संचालन भएको हो । “युवा, सिप र स्वरोजगार समृद्ध नगर निर्माणको आधार” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगितामा नगरपालिका भित्रका १३ वटा माध्यमिक विद्यालयहरुका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा वाईज भिजन इङ्गलिस बोडिङ्ग स्कुलकी प्रिस्किला बराम प्रथम, जनज्योति माध्यमिक विद्यालयकी प्रशंसा काफ्ले द्धितिय र नेपाल नमूना माध्यमिक विद्यालयका सुदिप पोख्रेल तृतीय हुन सफल भएका छन् । प्रतियोगिताका विजेताहरुलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा नेपाल नमूना माध्यमिक विद्यालयबाट सुदिप पोख्रेल, सकला माध्यमिक विद्यालयबाट स्वर्णिमा रेग्मी, वरचुली माध्यमिक विद्यालयबाट हिरा सुवेदी, कालिका माध्यमिक विद्यालयबाट अनुपा भट्टराई, पृथ्वी माध्यमिक विद्यालयबाट प्रितम कार्की, जनज्योति नमूना माध्यमिक विद्यालयबाट छविलाल घर्ती, भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयबाट राधिका सिंजाली, जनज्योति माध्यमिक विद्यालयबाट प्रशंसा काफ्ले, पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालयबाट गणेश दाहाल, विश्वज्योति माध्यमिक विद्यालयबाट दिव्या तिवारी, न्यू नवल इङ्गलिस स्कुलबाट जिविका क्षेत्री, मुनलाईट आदर्श पब्लिक एकेडेमीबाट निराज गौतम र वाईज भिजन इङ्गलिस बोडिङ्ग स्कुलबाट प्रिस्किला बरामले सहभागिता जनाएका थिए ।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापा मगरको अध्यक्षतमा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका शर्माले समाज, राष्ट्र र अर्थतन्त्रमा हुने अवसरहरुलाई यूवाहरुले उपयुक्त समयमा प्रयोग गर्नु सक्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले राष्ट्र निर्माणका लागि युवाहरुको खाँचो रहेकोले युवाका मुद्धालाई स्थापित गर्न, युवाका सवालमा सरकार तथा सरोकारवालालाई सचेत गराउनुपर्ने बताउनुभएको थियो ।
यसैगरि कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्लेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित प्रतियोगितामा विद्यार्थीहरुले युवाहरु कतिको सशक्त छन् ? युवाहरुले के गर्न सक्छन् ? युवाहरुले यो समाजलाई रुपान्तरण गर्न के गर्छन ? जस्ता विषयमा खुलेर आफ्ना भनाई राख्ने बताउनुभएको थियो । साथै उहाँले अहिलेको २१ औँ शताब्दीमा डिजिटललाई कसरी प्रयोग गर्ने र विश्वभर कसरी चिनाउने जस्ता विषयमा युवाहरु चनाखो हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली वडा नं ९ का वडाध्यक्ष बलिराम सापकोटाले पछिल्लो समय युवाहरु लागुपदार्थ दुव्यर्सनीमा संलग्न भएका घटनाहरु बढि रहेकाले युवाहरुलाई सचेत गराई बेला–बेला अन्तरक्रिया कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभएको थियो ।
प्रतियोगिताको निर्णयकमा कृष्णदेवि शर्मा, डा.धनपति कोइराला र दुर्गादत्त घिमिरे रहनुभएको थियो । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सदस्य ढुण्डिराज के.सीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सदस्य सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । हरेक बर्ष अगष्ट महिनाको १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ यो बर्ष दिवस मनाइँदैछ ।