नवलपुर,
निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) नवलपुरको आयोजनामा एस.ई.ई. २०८० उत्तीर्ण विद्यार्थी एवम् विद्यालयहरुलाई बधाई तथा सम्मान गरिएको छ । शनिबार कावासोतीमा एक कार्यक्रमको आयोजना गरि विभिन्न संस्थागत विद्यालयबाट एस.ई.ई. दिएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । नवलपुर जिल्लाका संस्थागत विद्यालय तर्फबाट एस.ई.ई मा ३.६० जिपिए देखि ४ जिपिए ल्याउने १ सय ६९ जना विद्यार्थीलाई प्रमाणपत्र र मायाको चिनोले सम्मान गरिएको छ ।
यसैगरि एस.ई.ई. मा जिल्लाभर शतप्रतिशत उत्तीर्ण हुने देवचुली नगरपालिकाको मुनलाईट आदर्श पब्लिक एकेडेमी, विनयीत्रिवेणी गाउँपालिकाको ब्लु स्टार ईङ्लिस सेकेण्डरी स्कुल, र सर्दी एकेडेमी, लखन थापा मेमोरियल एकेडेमीलाई सम्मान गरिएको थियो ।
यस्तै राष्ट्रिय मापन अनुसारको ५० भन्दा बढि विद्यार्थी सहभागी गराएर जिल्लामा प्रथम हुन सफल कावासोतीको नवलपुर एकेडेमी, द्धितीय हुन सफल देवचुलीको विश्वज्योति सेकेण्डरी स्कुल र तृतीय हुन सफल गैंडाकोटको विजय सामुदायिक शिक्षा सदन ( युनाईटेड तक्षशिला एजुकेशन) लाई सम्मान गरिएको प्याब्सन कावासोतीका अध्यक्ष त्रिलोक तिवारीले जानकारी दिनुभयो ।
प्याब्सन नवलपुरका अध्यक्ष दिपक रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रिय उपाध्यक्ष बिर बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले राष्ट्रको एस.ई.ई. नतिजा संस्थागत विद्यालयले गर्दा सन्तोषजनक रहेको बताउँदै उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीको तर्फबाट गैंडाकोटको नमूना आवासीय माध्यमिक विद्यालयकी छात्रा स्वस्तीका खड्का, गैंडाकोटको सरस्वती निकेतनका छात्र समीर पाठक, अभिभावकको तर्फबाट रमेश काफ्ले, प्याब्सन केन्द्रिय उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपाने, प्याब्सन गण्डकीका अध्यक्ष दिनेश कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मान कार्यक्रममा उपस्थित सम्पूर्णलाई प्याब्सन नवलपुरका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रदीप बास्तोलाले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका प्याब्सन नवलपुरका अध्यक्ष रावतले विगतका वर्षहरु देखि नै प्याब्सन नवलपुरले विद्यार्थीलाई थप हौसला प्रदान गर्न एस.ई.ई.मा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै आइरहेको बताउनुभयो । प्याव्सन नवलपुरका उपाध्यक्ष भीम कंडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका सचिव कान्तामणि चौधरीले सहजीकरण गर्नुभएको थियो ।