पर्सा
भारतबाट प्राप्त तथा पर्साको तिलाबे व्यारेजबाट समेत थप गरी गण्डक नहरमा यो वर्ष ८ सय ५० क्युसेक पानी प्रवाह भइरहेको छ । यस वर्ष सिजनमै पर्याप्त पानी भएपछि नहरले सिँचाइ हुने पर्सा, बारा र रौतहटका किसानले शत प्रतिशत रोपाइँ सम्पन्न गरेका छन् ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश कुमार साहले हाल भारतीय पक्षले नहरमा ६ सय ५० क्युसेक पानी दिएको र कार्यालय मातहत पर्सा जिल्लामा रहेको तिलाबे व्यारेजबाट नहरमा थप २ सय क्युसेक पानी झारिएको छ ।
‘नहर अहिले पूर्ण क्षमतामा चलेको छ, यस वर्ष कुनै बाधा व्यवधान नआएको र भारतीय पक्षले पनि नियमित रुपमा पानी उपलब्ध गराइरहेकोले नहरको सिञ्चित क्षेत्रका किसानले एक साताअघिनै पूर्ण रुपले रोपाइँ गरिसकेका छन्,’ उनले भने, ‘नहरमा पर्याप्त पानी उपलब्ध भएकाले नरहको ब्लक नम्बर १४ अर्थात रौतहटको बंकुल पूर्व क्षेत्रसम्मै पानी पुगेको छ ।’
नवलपरासीस्थित नेपाल भारत सीमामा रहेको गण्डक व्यारेजबाट दोन, त्रिवेणी र तिरहुत गरी ३ वटा नहर निस्किएका छन् । दोन नहर भारतमै ९२ किलोमिटर यात्रा गरेर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ । नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरको नामले चिनिन्छ ।
भारतीय पक्षले बर्सेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा पानी दिने गर्छ । सम्झौता अनुसार नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिनु पर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपाल तर्फ ८१ किलोमिटर छ ।
सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन जिल्लाको करिब ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य छ ।