भरतपुर,
चितवनमा रहेर अढाइ दशकदेखि निरन्तर पत्रकारिता गरिरहेका पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित भएका छन् । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको एक्काइसौं वार्षिकोत्सवका अवसरमा बिहीबार ‘एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२४´ बाट कँडेललाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसका अध्यक्ष घननाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दोसल्ला र प्रमाणपत्र सहित २५ हजार एक सय एघार रुपैयाँले कँडेललाई सम्मान गरेका हुन् । एक्स्पर्टको १९औँ वार्षिकोत्सवदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपटक पत्रकार ईश्वरकुमार जोशी र त्यसपछि रमेशकुमार पौडेललाई दिइएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर ४, त्रिचोक निवासी पत्रकार सूर्यप्रकाश कँडेलले चितवनलाई कार्यक्षेत्र बनाएर २०५५ सालदेखि पत्रकारिता गरिरहेका छन् । चितवन सन्देश साप्ताहिकबाट सम्वाददाताका रुपमा अगाडि बढेको उनको पत्रकारिता हाल कायाकैरन दैनिकको प्रधानसम्पादकसम्म आइपुगेको छ । २०३२ साल भदौ ८ गते गुल्मी जिल्लाको तत्कालीन डाँसीकोट गाउँमा जन्मिएका कँडेल आमा लक्ष्मीदेवी र बुवा डिलारामका तीन सन्तानमध्ये जेठा हुन् । उनका एक भाइ चन्द्रप्रकाश विवेकी र एक बहिनी रीता ढकाल छन् ।
२०६२ सालमा भरतपुर–८, गौरीगञ्ज निवासी लक्ष्मी सापकोटासँग वैवाहिक बन्धनमा बाँधिएका कँडेलका दुई छोरा हिमाल र हिमेश छन् । बालकुमारी कलेजबाट वाणिज्यशास्त्रमा स्नातक तह पूरा गरेपछि २०५५ सालबाट कँडेल पूर्णकालीन हिसाबले पत्रकारितामा लागे । उनी पूर्णकालीन पत्रकार एवं लेखक हुन् । २०७७ सालमा उनको पहिलो साहित्यिक कृति `मोसो´ उपन्यास प्रकाशित भएको छ ।
२०५६ सालमा चितवन पोष्ट साप्ताहिक, (हाल दैनिक)को उपसम्पादक बनेका उनले २०५७ सालमा आफैं सम्पादक एवं प्रकाशक भई केही समय अनावरण साप्ताहिक पत्रिका चलाए । पत्रिका चलाउन कठिनाई भएपछि उनले २०५८ सालमा आदर्श समाज दैनिकको गैंडाकोट संस्करणमा सहायक सम्पादक भई काम गरे । कँडेलले २०५९ सालदेखि २०७४ सालसम्म अन्नपूर्ण पोष्ट दैनिकको समाचारदाता एवं नारायणगढ ब्युरो प्रमुख भई काम गरे ।
उनले २०७६ र २०७७ सालमा कोभिड महामारीकै बिच नागरिक दैनिकमा चितवन संवाददाता भई काम गरे । त्यसअघि पत्रकार कँडेलले केही एफएम रेडियो र अनलाइनमा समाचार सम्पादकका रुपमा काम गरे । उनले गैंडाकोटमा रहेको मुकुन्दसेन टेलिभिजनमा पनि समाचार प्रमुखका रुपमा काम गरे । नेपाल पत्रकार महासंघ, चितवन शाखाका पूर्वसल्लाहकार कँडेल स्वतन्त्र पत्रकार संघ, पर्यटन पत्रकार मञ्च र मेची महाकाली मिडिया सोसाइटी, चितवन शाखाका पूर्वअध्यक्ष हुन् ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतले योग्य व्यक्तिले पुरस्कार पाएकोमा पुरस्कारको पनि सम्मान भएको उल्लेख गर्दै सम्मानित स्रस्टा कँडेललाई बधाई दिएका थिए ।