काठमाडौँ/
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले प्रारम्भिक प्रतिक्रिया दिँदै चालक दलको कमजोरीका कारण हेलिकप्टर दुर्घटनामा परेको बताउनुभएको हो ।
सिभिल एभिएशनको ‘भिजुअल फ्लाइट रुट’ (भीएफआर) ले अनुमति नदिएको खराब मौसम अर्थात् बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको प्राधिकरणको दाबी छ ।
महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गर्नुभयो । उहाँले भीफएआर कै भरमा हेलिकप्टर उडाउन नमिल्ने नियम ल्याए पनि सोर्सफोर्स का आधारमा नियम पालना गर्न नसकिएको बताउनुभयो ।
सांसदहरूले भने कसको दबाबमा पाइलटलाई भीएफआरकै भरमा हेलिकप्टर उडान भनिएको हो भन्दै जवाफ मागेका छन् । कतिपय सांसदले नेतृत्वकै गम्भीर लापर्बाही देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।
सांसद धवलशम्शेर राणाले माहतका कर्मचारीलाई निलम्बन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । हेलिकप्टरलाई मर्मत गर्ने ठाउँसमेत दिन नसक्ने नेतृत्वबाट हवाई सुरक्षा नहुने भएकाले अधिकारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने राणाको माग छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि नियामककै कमजोरीले हवाई दुर्घटना बढेको बताउँदै प्राधिकरणका महानिर्देशक अधिकारीमाथि कारबाही गर्ने प्रस्ताव पर्यटनमन्त्रीले ल्याउनुपर्ने बताउनुभयो ।
हिजो दिउँसो काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीतर्फ उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौरमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो ।