देवचुली,
कक्षा १२ को बोर्ड परीक्षा २०८० मा जिल्ला प्रथम भएको खुशीयालीमा भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले शिक्षक तथा विद्याथीलार्ई सम्मान गरेको छ । सोमबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि बधाई, शुभकामना तथा शिक्षक, विद्यार्थीलाई सम्मान गरेको हो । नवलपुर जिल्लामा नै व्यवस्थापन संकायमा उत्कृष्ट अंक ल्याउन सफल भएपछि विद्यालयले खुशीयाली मनाएको छ ।
विगतका समय देखि नै नवलपुर जिल्लाको मात्रै नभई देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा चिनिएको भीमसेन मा.विले अर्काे सफलता प्राप्त गर्न सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्ड २०८० सालको कक्षा १२ मा भीमसेन मा.विकी छात्रा रुषमा थापा क्षेत्री जिल्ला प्रथम भएकी हुन् । कक्षा १२ मा रुषमा सहित समग्र विद्यालयको नतिजा राम्रो रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यतामा विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएकी नगर उपप्रमुख तिवारीले देवचुली नगरपालिकाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा भीमसेन आदर्श नमूना मा.विको नाम लिन पाउँदा निकै खुशी लागेको बताउनुभयो । उहाँले विद्यालयको शानलाई निरन्तर राख्न शिक्षक एवम् विद्यार्थीलाई महेन्त गर्न नछोड्न आग्रह गर्नुभयो । साथै उहाँले पछिल्लो समय कक्षा १२ पश्चात् उच्च शिक्षा अध्ययनका लागि विदेशीने परम्पराको अन्त्य गर्न समेत विद्यार्थीलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले विद्यालयको निरन्तरको प्रयास र लगनशीलताले विद्यालयले उत्कृष्ट नतिजा प्रदान गर्न सफल भएको भन्दै आगामी दिनमा अझै मेहेन्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएकी छात्रा पुष्पा जैसी, भीमसेन आदर्श नमूना मा.विका पूर्व प्रधानाध्यापक नरदेव न्यौपाने, पूर्व व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसाल, देवचुली नगरपालिका वडा नं ९ का वडाध्यक्ष बलिराम सापकोटा, देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा,जनज्योति आदर्श बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष होमनाथ जैसीले विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । आगामी दिनमा पनि विद्यालयको यो गरिमालाई निरन्तर राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी एवम् शिक्षकहरुलाई मायाको चिनो, प्रमाण पत्र र नगदले सम्मान गरिएको थियो । कार्यक्रमलाई समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछानेले शिक्षक, विद्यार्थी र अभिभावकको अथक प्रयासले नै सफलता हासिल गर्न सफल भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण भीमसेन मा.विका प्लस २ कोअडिनेटर कृष्ण काफ्लेले गर्नुभएको थियो ।
भीमसेन मा.विमा हाल २२ सय भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । शैक्षिक क्षत्रेमा मात्रै नभई अन्य विभिन्न क्रियाकलापमा पनि जिल्लामा नै उत्कृष्ट विद्यालयका रुपमा भीमसेन आदर्श नमूना मा.विलाई चिन्ने गरिन्छ ।