काठमाडौँ
दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको ब्ल्याक बक्स बोकेर दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन आफै सिंगापुर पुगेका छन् । जहाज दुर्घटनाको छानबिन तथा अध्ययनको सिलसिलामा रहेको आयोगले भ्वाइस रेकर्ड तथा घटना विवरणको जाँच गर्न सकिने ब्ल्याक बक्स परीक्षणका लागि सिंगापुर पठाइएको हो ।
अध्ययनका सन्दर्भमा ब्ल्याक बक्स बोकेर अध्यक्ष आफैँ सिंगापुर गए पनि थप सूचना नआएको र उनी फर्किसकेपछि विज्ञप्तिमार्फत सार्वजनिक गरिने आयोगका सदस्य सुदीप भट्टराईले रातोपाटीसँग बताए । ‘अध्ययनको सन्दर्भमा थप बोल्न मिल्दैन । जे–जति सूचनाहरू छन् ती सबै आधिकारिक रूपमा विज्ञप्तिमार्फत मात्र सार्वजनिक गर्छौँ । ब्ल्याक बक्स जाँच गर्ने सन्दर्भमा अध्यक्षज्यूले नै आफू सिंगापुर गएको सार्वजनिक गरिसक्नुभएको छ । थप सूचना आएको छैन । उहाँ फर्किएपछि के कसो भयो विज्ञप्तिमार्फत सार्वजनिक गर्छौँ,’ भट्टराईले रातोपाटीसँग भने ।
साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त जहाजमा सवार १९ जनामध्ये १८ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । क्याप्टेन मनिषरत्न शाक्य भने सकुशल उद्धार भएका थिए । आवश्यक उपचारपछि केएमसी शिक्षण अस्पताल सिनामंगलबाट क्याप्टेन शाक्य डिस्चार्ज भइसकेका छन् ।
घटनाको सत्य तथ्य छानबिन गर्न भन्दै जहाज दुर्घटना परेकै दिन सरकारले ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा गठित दुर्घटना जाँचबुझ आयोगको सदस्यहरूमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका मेकानिकल इन्जिनियर तथा विभागीय प्रमुख सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी र त्रिभुवन विमानस्थल (टीआईए) का एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन् ।
यसअघि २०७९ माघ १ गते पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको ब्ल्याक बक्स पनि परीक्षणका लागि सिंगापुर नै पठाइएको थियो ।
- के हो ब्ल्याक बक्स ? के हुन्छ यसमा ?
जहाजको सम्पूर्ण फ्लाइट डाटा र ककपिटको भ्वाइस रेकर्ड रहने उपकरण नै ब्ल्याक बक्स हो । उच्च तापक्रम र न्यून तापक्रमबाहेक पानीको गहिराइमा समेत डाटा सुरक्षित रहने गरी प्रायः जहाजको पछिल्लो भागमा ब्ल्याक बक्स राखिएको हुन्छ ।
फ्लाइटको डाटा रेकर्डले प्राविधिक पक्षको रेकर्ड राख्छ भने ककपिटमा पाइलट, को-पाइलट र अन्य चालक दलहरूबिच भएको संवाद सबै ब्ल्याक बक्समा रेकर्ड हुन्छ ।
यति मात्र नभई विमानका हरेक उपकरणको अवस्था, उचाइ, तापक्रम, दिशा, गति, इन्धनको मात्रा, अटो अथवा म्यानुअल पाइलटको अवस्था दुर्घटनाको अवस्थासम्म केके थियो सबै यसैबाट थाहा गर्न सकिन्छ । यसैले जहाज दुर्घटना पश्चात् अध्ययन अनुसन्धानका लागि ब्ल्याक बक्स निकै महत्त्वपूर्ण रहन्छ ।
साभारःरातोपाटीबाट