नवलपुर,
कृषि ज्ञान केन्द्र नवलपुरले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बार्षिक कार्यक्रमको सार्वजनिकीकरण गरेकोे छ ।
सञ्चालित कार्यक्रमहरुको प्रस्तुतिकरण कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाँइ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिल कुमार सिंहले गर्नुभएको थिए । प्रस्तुतकर्ताहरुले गत एक बर्षमा सञ्चालित कार्यक्रमको समीक्षा, आगामी कार्ययोजना तथा कार्यक्रम सञ्चालनका दौरान भए गरेका समस्याको पहिचान र भावी रणनीतिका बारेमा कार्यपत्र प्रीजन्टेसन मार्फत् प्रष्ट्याउनु भएको थियो।
सो अवसरमा कृषकहरुले कृषि बाली तथा पशुपंक्षीमा देखिने समस्याहरुको बारेमा जिज्ञासा राखेका थिए । मत्स्य व्यवस्थापनका समस्या, क्वारेनटाइन चेक, अवैध रुपमा भित्रिने कृषि उत्पादन र माछाहरुको निगरानी नियमन, भारतिय फूल आयातले स्थानिय स्तरमा उत्पादित फूलको बजारमा पारेको प्रभाव, कृषि अनुदानमा नियमन लगायतका विषयमा समेत कृषकहरुले ध्यानार्कषण गराएका थिए ।
हाल देखिएका कृषकका प्रमुख समस्याहरुमा कृषि प्राविधिकको असुविधा, बजारीकरणमा समन्वयको अभाव, कृषिसँग सम्वन्धित विषयमा कृषकसँग समन्वय नगरिनु र अनुदानमा एकरुपता नहुनु जस्ता रहेका कृषकहरुले गुनासो गरेका छन् ।
कृषकका जिज्ञासा तथा समस्याहरुलाई सम्बोधन गर्दै कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा। टंकप्रसाद प्रसाईले कृषकलाई परेको मर्काप्रति आँफु गम्भीर रहेको बताउनुभयो । साथै स्थानीय उत्पादनको बजारीकरण र कृषिवालीमा देखिएका समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका सम्पूर्ण सरोकारवाला संस्था र व्यक्तिहरु जिम्मेवार र गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सार्वजनिकीकरण कार्यक्रममा गण्डकी प्रदेशका सांसद रोशन बहादुर गाहा, पदमा जि.सी, बिन्दु पहारी, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा, उपप्रमुख सकुन्तला लम्साल, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, कर्मचारी, कृषि सहकारीका सञ्चालक, कृषक समूहका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्रका कृषि विशेषज्ञ सञ्जय ढकालले गर्नुभएको थियो।