काठमाडौं
७ साउनमा ललितपुर गोदावरी नगरपालिका थैबस्थित एक पुनर्स्थापना केन्द्रका युवकमा हैजा संक्रमण पुष्टि भयो ।
ती युवकको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहँदा केन्द्रका अरु केही युवकमा पनि झाडापखालाको लक्षण देखियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र जनस्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा चार जना युवकलाई अस्पताल भर्ना गरियो । तर तीन जना युवक भने शौचालयको झ्यालबाट भागे । एक जना युवकको मिर्गौलामा समस्या आएका कारण टेकुले पाटन अस्पतालमा रेफर गर्यो ।
दुई दिनपछि आएको रिपोर्टमा उनीहरु सबैलाई हैजा संक्रमण पुष्टि भयो । महाशाखाको तथ्यांक अनुसार हालसम्म त्यस केन्द्रका १० जनामा हैजा पुष्टि भइसकेको छ ।केन्द्रको इनारको पानीमा दिसामा पाइने एक प्रकारको जिवाणु कोलिफर्म भेटिएको महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरे बताउँछन् ।
‘उनीहरूले प्रयोग गरेको इनारको पानी दूषित भएको देखियो, यो कुनै बाहिरबाट आएको होइन’, डा. घिमिरेले भने, ‘पानीका विभिन्न स्रोतमा हैजाका किटाणु हुन्छन्, त्यसकारण सजगता अपनाउनुपर्ने देखिन्छ ।’
महाशाखाका अनुसार पछिल्लो एक महिनामा काठमाडौं उपत्यका र बाहिर गरी २० जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । उपत्यका बाहिर कैलालीमा ७ जना हैजाका बिरामी भेटिएका छन् । काठमाडौंको टोखा, लतिपुरको ग्वार्को र चापागाँउमा पनि हैजाका संक्रमित भेटिएका महाशाखाले जनाएको छ ।
त्यस्तै कालीमाटीमा पनि तीन जनामा हैजा हुनसक्ने आशंका गरिएको छ । इडीसीडीका एक उच्च अधिकारीका अनुसार र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको छ, तर कल्चरको रिपोर्ट आइसकेको छैन ।
‘कल्चर रिपोर्ट नहेरेसम्म यकिनका साथ भन्न सकिँदैन । तर उनीहरुको लक्षण हेर्दा संक्रमण हुनसक्ने देखिन्छ’, ती अधिकारीले भने ।
ईडीसीडीका निर्देशक डा. घिमिरेका अनुसार पुनस्र्थापना केन्द्रको इनारको पानीमा इकोलाई र कोलिर्फम भेटिएको छ भने अन्य ठाउँको पानीको स्रोतको परीक्षण रिपोर्ट आइसकेको छैन । इकोलाई मानिसको दिसामा हुने जिवाणु हो, यो झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।
पछिल्ला दिनमा विभिन्न ठाउँमा हैजाको संक्रमण देखिनुले उपत्यकामा समुदायस्तरमा नै हैजा फैलिएको हुन सक्ने ईडीसीडीका एक अधिकारी बताउँछन् ।
‘संक्रमितले प्रयोग गरेका उपत्यकाका धारा र इनारको पानीमा दिसामा पाइने जीवाणु देखिएको हो’, ती अधिकारीले भने, ‘पानी नै प्रदूषित भएकाले विभिन्न स्थानमा हैजाका बिरामी भेटिएका हुन् ।’
उनका अनुसार संक्रमितहरुमा पानीको माध्यमबाट हैजा सरेको देखिएको छ । तर, पानीको स्रोतमा कहाँबाट हैजाको जीवाणु पुग्यो भन्ने पहिचान हुन सकेको छैन ।
महाशाखाका प्रमुख डा. घिमिरेका अनुसार ईडीसीडी, स्वास्थ्य कार्यालय काठमाडौं, स्वास्थ्य कार्यालय ललितपुरको समवन्यमा विभिन्न ठाउँका ढल र पानीका स्रोतको नमुना संकलन गरिएको छ ।
‘त्यहाँका मानिसमा लक्षण देखिँदा पनि अस्पतालसम्म आइपुगेका हुँदैनन्, सबैभन्दा बढी जनचेतनाको पाटोलाई हामीले जोड दिन्छौं’, डा. घिमिरे भन्छन्, ‘निरन्तर पानी परिरहेकाले पानीजन्य संक्रमणको जोखिम हुन्छ । केही समय सबैले सजगता अपनाउनुपर्छ ।’
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन काठमाडौंमा हैजाको प्रकोप नै देखिन सक्ने जोखिम देख्छन् । हालसम्म पुष्टि भएको संख्या भन्दा समुदायस्तरमा हैजाका बिरामी बढी हुनसक्ने उनको अनुमान छ ।
‘काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा हैजाका संक्रमित देखिएकाले पनि समुदायमा फैलिरहेको सहज अनुमान लगाउन सकिन्छ’, डा. पुनले अनलाइनखबरसँग भने, ‘किनकी त्यहीँको पानी वा खाद्यान्न अरूले पनि खाएका होलान्, त्यसकारण यो संख्या विस्तारै बढ्छ ।’
संक्रमण कडा नभएको अवस्थामा बिरामीहरु अस्पतालसम्म नआउने तर समुदायमा अन्य व्यक्तिमा हैजा सारिरहने सम्भावना हुने उनी बताउँछन् ।
‘समुदायमा संक्रमण फैलिरहेको अवस्था छ । बिरामीलाई जटिल अवस्था आइसकेपछि मात्रै अस्पताल भर्ना हुन्छन्’, डा. पुन थप्छन्, ‘विगतमा पनि स्रोत पहिचान हुन नसकेर समुदायस्तरमा हैजा फैलिएको देखिएको छ ।
२०७९ मा पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका संक्रमित भेटिएका थिए । २०७८ मा कपिलवस्तुमा फैलिएको हैजाबाट १० जनाको मृत्यु भएको थियो ।
झाडापखालाको कारणमध्ये हैजाको संक्रमण सबैभन्दा गम्भीर हो । हैजाले छोटो समयमा नै जटिलता ल्याउनसक्छ । सरुवा रोग विशेष्ज्ञ डा. पुनका अनुसार दश संक्रमितमध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउने हुन्छ ।
‘विभिन्न ठाउँमा संक्रमण देखिएकाले हैजा समुदायस्तरमा देखिसकेको पुष्टि हुन्छ । यदि सावधानी अपनाइएन भने महामहारीकै रुप लिने सम्भावना छ’, उनी भन्छन्, ‘हैजाले कडा रुप लियो र समयमै उपचार दिन नसके मृत्युदर पचास प्रतिशतसम्म पुग्न सक्छ ।’
चिकित्सकहरुका अनुसार लक्षणविहीन संक्रमितले संक्रमण फैलाउन प्रमुख भूमिका खेल्छ । बिरामी शौचालय गएपछि राम्रोसँग हात नधोएर अन्य व्यक्तिलाई खानेकुरा तथा पानी दिए हैजाको संक्रमण हुन सक्छ ।
‘पहिला–पहिला फोहोर पानीले हैजा फैलिन्थ्यो, अहिले सफा पानीबाट फैलिनसक्छ । किनेर ल्याएको खानेपानी, इनारको पानी सुरक्षित नभएकाले त्यहीँबाट हैजा फैलिरहेको छ’, डा. पुन भन्छन् ।
अहिले वर्षातको समय भएकाले महामारीको रुप लिनुपूर्व नै रोकथाम गर्न सर्तकता अपनाउनुपर्ने डा. पुन बताउँछन् । कसैलाई तारन्तार झाडापखाला भए जीवनजल पिउन र अस्पताल जान डा. पुन सुझाव दिन्छन् ।
हैजा भिब्रियो कोलेरा प्रजातिको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखाला रोग हो । हैजा दिसाको माध्यमबाट वातावरणमा फैलिन्छ र दूषित खाना वा पानीको माध्यमबाट अर्को व्यक्तिसम्म पुग्छ । हैजामा संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।
हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् ।
गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने डा. पुन बताउँछन् ।
यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।
हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाब पछि राम्रोसँग मिचीमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।
सरसफाइमा ध्यान दिनु नै हैजा रोकथामको प्रमुख विकल्प रहेको डा. पुन बताउँछन् ।
साभार ः अनलाईनखबरबाट