म्याउ म्याउ बिरालो
यतातिर आउ
मेरो नाना काटी खाने
मुसामारी खाउ
कराईको बुबु नखाउ
म भोक्कै हुन्छु
धुरु धुरु रुन्छु
लात्तीले हान्छु
चोर बिरालो भन्छु !
यो प्रसिद्ध बाल कविताका हरफहरू नसुन्ने सायदै कोही होलान् । नेपाली बाल साहित्यमा सबैभन्दा बढी रुचाइएको बाल कविता "म्याउ म्याउ बिरालो" का रचयिता कवि दीपक सोतीको नवलपुरको कावासोती-१२ पिठौलीस्थित निवासमा नवलपुरका कवि तथा साहित्यकार जम्मा भए । सोती निवासमा आएका साहित्यकारहरूलाई कवि दीपक सोतीले सहृदय स्वागत गरे । चाउरिएको निधार र चाउरिएकै गालामा सेताम्य दारी पालेर ढाका टोपी ढल्काएर दैलो अगाडि उभिएका सोतीलाई भेट्न र उनको ७६ औँ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्न नवलपुरका कवि साहित्यकार सोती निवास पुगेका हुन् ।
सोती परिवारको आयोजना र देवचुली साहित्य समाजको समन्वयमा कवि सोतीको जन्मदिनको अवसरमा कविसँग साक्षात्कार र रचनावाचन कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित कवि साहित्यकारहरूले केही प्रेमका केही समाज र देशका, केही जीवन जगतका कविता सुनाए । कतिले त कवि सोतीलाई सम्बोधन गरी दीर्घायुको कामना गर्दै कविताका हरफहरु समर्पण गरे। कवि साहित्यकारहरूले सोतीलाई शुभकामना व्यक्त गर्दा मुसुमुसु मुस्कुराइरहेका कवि दीपक सोती हर्ष विभोर देखिन्थे । उमेरले नेटो काट्नै लाग्दा पनि कवि दीपक सोतीको साहित्यप्रतिको लगाव, अग्रसरता र सक्रियता अनुसरण गर्न लायक रहेको साहित्यकारहरूको भनाइ थियो ।
दीपक सोतीसँगको साक्षात्कार र रचनावाचन कार्यक्रममा नवलपुरका पुराना पुस्ताका कृष्णादेवी शर्मा श्रेष्ठले कविताकै हरफबाट कवि सोतीलाई जन्मदिनको शुभकामना टक्राउनुभयो। अर्का साहित्यकार सदानन्द अभागीले कवि सोतीकै "तिउन" कविता समर्पण गर्नुभयो। साहित्यको भावले रङ्गीन बनेको सोती निवासमा कवि करुण लम्साल राधा पाण्डे, तेजेन्द्र सापकोटा, शोभा कोइराला खनाल, राजन पाण्डे, अशोक अधिकारी, नारायण प्रभु, निमा पौडेल तिवारी लगायतले कविता गजल र मुक्तक वाचन गर्दै कविको दीर्घायुको कामना गरे।
कवि सोतीको ७६ औँ जन्मदिनको अवसरमा कविलाई शुभकामना प्रदान गर्न प्रमुख अतिथिका रुपमा नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल सोती निवास पुग्नुभयो। उहाँले कविलाई काव्यिक यात्राको सफलताको शुभकामना साथै सुस्वास्थ्यको कामना गर्दै कविता वाचन गर्नुभयो । प्रमुख जिल्ला अधिकारीले प्रेमिल कविता वाचन गरिरहँदा सोती निवास जाज्वल्यमान बनेको थियो । कवि सोतीलाई देवचुली नगरपालिकाका नगरप्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डे लगायतका व्यक्तित्वहरुले पनि कविता र शुभेच्छाका शब्दहरुले जन्मदिनको शुभकामना व्यक्त गरे ।
जन्मदिनमा कवितावाचन कार्यक्रम सम्पन्न हुँदै गर्दा कवि दीपक सोतीले नवलपुरे साहित्यकारहरूलाई स-सम्मान धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आफ्ना आगामी जन्मदिनहरू पनि यसैगरी स्रष्टाहरूकै माझ मनाउन पाइयोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो। कवि सोतीले "मेरी मर्स्याङ्दी", "म क्रान्तिकारी" लगायतका कवितावाचन गर्दै कार्यक्रमको समापन गर्नुभयो। कवि दीपक सोतीको ७६ औँ जन्मदिनको अवसरमा आयोजित साक्षात्कार एवं रचनावाचन कार्यक्रमको सहजीकरण देवचुली साहित्य समाजका अध्यक्ष आदर्श सुशीलले गर्नुभएको थियो।