देवचुली
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । पुरानो मेडिकल कलेज चितवनको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर शुक्रबार देवचुली १ केउरेनीमा रहेको नेपाली नमुना मा.विमा सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख अरुण पोख्रेलको प्रमुख आतिथ्यतामा स्वास्थ्य शिविरको समुद्घाटन गरिएको थियो ।
नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले निःशुल्क शिविर संचालन गरेकोमा कार्यक्रमका प्रमुख अतिथी रहनुभएका पोख्रेलले कृतज्ञता व्यक्त गर्नुभएको थियो । उहाँले उद्योग वाणिज्य महासंघले सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रयास गरेको भन्दै समाजमा यस्ता सामाजिक कार्य सबैले गर्दै जानुपर्ने कुरामा जोड दिनुभएको थियो ।
उद्घाटन कार्यक्रममा देवचुली नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्ण बहादुर के.सी र नेपाल नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन बुढाथोकीले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमका लागि विभिन्न संघसंस्थाले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
निःशुल्क स्वास्थ्य शिविरमा औषधी पनि उपलब्ध गराइएको थियो । शिविरमा ९ सय ३० जनाले सेवा लिएका छन् । जसमा ४ सय जनाले रक्त परिक्षण, ८५ जनाले भिडियो एक्सरे, ४२ जनाले इ–सिजि र अन्य सेवा लिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केदार पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो । शिविरमा डा. मिरा कक्षपति, डा.नेहा कुमारी, डा. कञ्चन गाेयङ्का, डा. सफल राज भण्डारी, डा. विजय भुसाल, डा. सुलभ पोख्रेल, डा.उज्जवल गिरि, डा. उत्तम खत्री, डा. पंकज शाह, डा. राहुल पाण्डे, डा. सरिता जैसवाल, डा. अनु जैसवाल, डा. नविता भट्टराई, डा.शिल्पा महर्जन, डा.सन्तोष अधिकारी, डा.सिम्रन शाह, डा. नैना श्रेष्ठ, डा.एलिना वि.क, डा. नकुल तामाङ, डा. अन्जिला श्रेष्ठ लगायतको टोलीले स्वास्थ्य चेकजाँच गरेका थिए ।