देवचुली
देवचुली नगरपालिकामा आज शनिबार भानु जयन्ती मनाइएको छ। देवचुली नगरपालिकामा रहेको देवचुली साहित्य समाजको आयोजनामा २११ औं भानु जयन्ती मनाइएको हो।
देवचुलीमा मनाइएको भानु जयन्तीमा अग्रज पुस्ताका साहित्यकार दीपक सोती , कृष्णदेवी शर्मा श्रेष्ठ , लोकनाथ खरेल देखि पछिल्लो पुस्ताका साहित्यकारहरू साहित्य न्यौपाने, सदानन्द जैसी , मुक्ति ढकाल , सञ्जय भट्टराई , तेजेन्द्र सापकोटा , तारा प्रसाद सापकोटा , करुण लम्साल , टिकादेवी सापकोटा , शर्मिला सापकोटा , आइ पि सापकोटा , शोभा खनाल कोइराला , भूमिका तिवारी , मिना अधिकारी लगायतले आदिकवि भानुभक्त आचार्यलाई सम्झिँदै आफ्ना रचना वाचन गरेका थिए ।
भानु जन्तीको अवसर पारी आयोजना गरिएको विशेष काव्य वाचनमा नवलपुरको देवचुली नगरपालिका , गैडाकोट नगरपालिका र कावासोती नगरपालिकाका साहित्यकारहरूको जमघट रहेको थियो। कार्यक्रमको अध्यक्षता देवचुली साहित्य समाजका अध्यक्ष आदर्श सुशीलले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा देवचुली नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष एकदेव पौडेल रहनुभएको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले साहित्य , संस्कृति र भाषाको संरक्षणका लागि देवचुली नगरपालिकाले अभिभावकत्वको भूमिका खेल्ने र भावी दिनमा साहित्यको श्रीवृद्धिमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा करिब तीन दर्जन स्रष्टाहरूले आफ्ना गजल , कविता र मुक्तक वाचन गर्नुभएको थियो।
कार्यक्रममा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलमणि पौडेल र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल र उपाध्यक्ष दुर्गादेवी बिष्टले आफ्ना रचनासहित शुभकामना मन्तव्य राख्नुभएको थियो।
देवचुली साहित्य समाजका उपाध्यक्ष सीतादेवी पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण साहित्य समाजका सहसचिव निमा पौडेल तिवारीले गर्नुभएको थियो।