नवलपुर नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत निरन्तर झरीका कारण बिग्रेका सडकलाई ७ दिन भित्र मर्मत गरिने भएको छ। निर्माण कम्पनीलाई नवलपुरका जनप्रतिनिधिहरुले सडक मर्मतको लागी दबावपुर्ण आग्रह गरेका कारण आगामी ७ दिन भित्र सडक निर्माण गरिने भएको हो।
अविरल झरी परे सँगै बाटो हिलाम्मे भएर यातायात सञ्चालनमा सकस भए पछि आज सोमबार भएको वृहत छलफल पश्चात सडक मर्मत गर्ने निर्णय भएको हो। जिल्ला समन्वय समितिको आयोजनामा आज यस सडक सँग प्रतक्ष्य सरोकार राख्ने नवलपुरका स्थानीय निकायका प्रमुख तथा उप प्रमुख , सुरक्षा निकायका प्रतिनिधि , पत्रकारको साथमा निर्माण कम्पनीको प्रतिनिधिको बिचमा छलफल भएको थियो।

छलफलको क्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले अहिले देखिएको समस्याको मुख्य कारण पत्ता लगाएर समाधान तर्फ जोड दिन आवश्यक रहेको बताउँदै यस क्षेत्रको सर्वसाधारण हरेक समस्याको समाधान गर्नु जन प्रतिनिधिको जिम्मेवारी रहेकाले निर्माण कम्पनीलाई बरु आवश्यक सहयोग चाहिएमा हरेक क्षेत्रमा आफ्नो पालिकाले सहयोग गर्ने बताएका थिए। गैँडाकोट नगरपालिका प्रमुख मदन भक्त अधिकारिले बाटो किन नबनेको भन्ने कुरा मात्र जान्न पाए पनि मन बुझाउने बाटो हुने बताएका थिए।

मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले वर्षामा चोरमाराको मोडमा समस्या आउँछ भनेर बारम्बार बर्षा सुरुहुने अगावै एकतर्फी ग्राभेलिङ गर्न ताकेता गर्दा पनि वेवास्ता गरिएको भन्दै दुखेसो व्यक्त गर्दै समस्या समाधानमा तत्काल लाग्न आग्रह गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले निर्माण कम्पनीले बजार क्षेत्रमा मात्र धुलो व्यवस्थापनको लागी पानी हाले पनि अलि सुनसान क्षेत्र तथा वन क्षेत्रमा यो कार्यमा चासो नदिएको भन्दै समय अनुसार निर्माणको कार्य गर्न आग्रह गर्दै हालको लागी बिग्रेका बाटोलाई गरेका थिए ।

जिल्ला समन्वय समिति उपप्रमुख सकुन्तला लम्सालले यो समस्या समाधानको लागी आफूहरूले अथाह प्रयास गर्दा गर्दै पनि आफूहरूले गरेको प्रयास नदेखिएको भन्दै सबैलाई आफूहरूले खेलेको समन्वयकारी भूमिकाको बारेमा जानकारी दिएका थिए भने जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्माले गैँडाकोट र चोरमाराको समस्यालाई ७ दिन भित्र समाधान गर्न ताकेता गर्दै आफूहरूले हरेक ठाउँमा सहयोग गर्ने बताएका थिए।

छलफलमा उपस्थित सम्पूर्ण जना प्रतिनिधिले तोकिएको ७ दिन भित्र समस्या समाधान नभएमा जनता आफै सडकमा उत्रिन तयार रहेकोले सचेत हुन निर्माण कम्पनीलाई सुझाव दिएका थिए। पछिल्लो केहि दिन यता अविरल वर्षाका कारण चोरमारा क्षेत्रको सडकमा बिच्छ्याइएको रातो माटो हिलाम्मे भइ बाटो चिप्लो हुँदा साना सवारी मात्र नभई ठुला यात्रुवाहक र मालवाहक सवारीलाई आवतजावतमा समस्या भएपछी डोजरको सहयोगमा सवारीलाई वारपार गरिएको थियो।