नवलपुर
नवलपुरलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। आइतबार जिल्लाको देवचुली नगरपालिकाको दलदलेमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले नवलपुरलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गर्नुभएको हो।
राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सम्पूर्ण खोपहरू साथै पछि थप भएका अन्य खोपहरू समेत गरी १६ महिनादेखि ५९ महिना भित्रका बालबालिकाहरुले पाउनुपर्ने सम्पूर्ण खोपहरु पाएको खण्डमा बालबालिकाहरूले पूर्ण खोप लगाएको मानिन्छ ।
पूर्ण खोप सुनिश्चिताका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप लगाउन छुटेका बालबालिकाहरूको सर्वेक्षण गरी उक्त बालबालिकाहरूलाई खोप लगाउने गर्दछ । स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणमा गैंडाकोट नगरपालिकामा कुल खोप लगाउनुपर्ने २ हजार ५ सय २ बालबालिकामध्ये २४ जना बालबालिका छुट भएका थिए।
उनीहरुलाई पहिचान गरी लगाउनुपर्ने खोप लगाएपछि गैडाकोट नगरपालिकालाई गत असार २२ गते पूर्ण खोप पालिका घोषणा गरिएको थियो। यसैगरी देवचुली नगरपालिकाका २ हजार ४ सय ७ जनामध्ये कुनै बालबालिका छुटेका थिएनन्।
देवचुलीलाई वैशाख ३१ गते पूर्णखोप दिगोपना सुनिश्चिता घोषणा गरियो। यसैगरी कावासोती नगरपालिकाका ३ हजार ८ सय ७३ मध्ये छुट भएका ३ बालबालिकालाई खोप लगाई असार १९ गते, मध्यबिन्दु नगरपालिकाका ६ सय ९४ बालबालिकामध्ये छुट भएका ५ लाई खोप लगाई वैशाख ३१ गते, बुलिङटार गाउँपालिकाका १ सय ८१ बालबालिकामध्ये कोही छुट नभएकाले जेठ ३ गते, बौद्धकाली गाउँपालिकाका ९० जना बालबालिकामध्ये छुट भएका १ जनालाई खोप लगाई जेठ ३ गते, हुप्सेकोट गाउँपालिकाका ७ सय ६१ बालबालिकामध्ये छुट भएका १७ लाई खोप लगाई असार २१ गते र विनयी त्रिवेणी गाउँपालिका १ हजार ८ सय ८० बालबालिकामध्ये छुट भएका ४ लाई खोप लगाई असार ७ गते पूर्णखोप दिगोपना सुनिश्चिता घोषणा गरिएको थियो।
नवलपुर जिल्लाका आठवटै स्थानीय तहका बालबालिकाहरूले पूर्ण खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रममा पूर्ण खोप लगाएका पालिकाहरूलाई प्रमाणपत्र वितरण र उत्कृष्ट कार्य गरेका खोप कार्यकर्ताहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत एक नारायण लम्साल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राम शर्मा, विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी लगायतले नवलपुरलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै आफ्ना भनाइहरु राख्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव शैलेन्द्र कुमार सिंहले नवलपुर जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणाको प्रतिवेदन वाचन गर्नुभएको थियो।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सकुन्तला लम्साल, देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी, गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी , विभिन्न पालिका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, खोप कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट खरेलप्रसाद चौधरीले गर्नुभएको थियो। ३ लाख ७८ हजार ७९ जनसङ्ख्या र ९३ हजार ९ सय २५ परिवार सङ्ख्या रहेको नवलपुर जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा खोप सेवा दिनुपर्ने १ वर्ष मुनिका बालबालिकाको सङ्ख्या ४ हजार ८ सय ६७ र १ वर्षदेखि २ वर्षका बालबालिकाको सङ्ख्या ४ हजार ८ सय ६६ रहेको थियो।
हाल बालबालिकाहरूलाई १३ प्रकारका रोग विरुद्धको खोप दिँदै आइएको छ। नवलपुर जिल्लामा १ प्रदेश स्तरको स्वास्थ्य कार्यालय, १ जिल्ला अस्पताल, स्थानीय तह अन्तर्गत ३ नगर अस्पताल, १ प्राथमिक अस्पताल, १ आधारभूत अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ३२ स्वास्थ्य चौकी, ५१ आधारभूत स्वास्थ्य सेवा केन्द्र र १३ सामुदायिक स्वास्थ्य इकाई गरी १ सय ५ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् ।
त्यसैगरी जिल्लामा १ सय ५४ खोप केन्द्र, हरेक स्थानीय तहमा स्वास्थ्य शाखा र आयुर्वेद सेवातर्फ १ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ५ आयुर्वेद औषधालय र २ नागरिक आरोग्य केन्द्रहरू रहेका छन् ।