गैंडाकोट
नवलपुरको गैंडाकोट नगरपालिकामा ‘युनाइटेड तक्षशिला एजुकेशन’ सञ्चालनमा आएको छ। जिल्ला भित्र रहेका २३ वटा विधालय र ७ जना व्यक्ति गरि ३० जनाको लगानीमा ‘युनाइटेड तक्षशिला एजुकेशन’ शैक्षिक संस्थालाई संचालनमा ल्याइएको आज मंगलबार गैंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
संस्थाको संचालनको लागी गठित ७ सदस्यीय बोर्डका अध्यक्ष खेमराज सापकोटाले पत्रकार सम्मेलनमा बोल्दै नवलपुरका कक्षा ११ र १२ मा अध्ययन गर्ने विधार्थीहरुको लागी पहिलो रोजाई बन्दै कुनै पनि कम्प्रोमाइज नगरी वर्तमान समयमा आवश्यक रहेको गुणस्तरीय शिक्षा दिने बताएका थिए।
यस अघि गैंडाकोटमा संचालनमा रहेको विजय सामुदायिक शिक्षा सदनको सम्बन्धनका रुपमा रहेर खेमराज सापकोटाको अध्यक्षतामा लक्ष्मीप्रसाद दवाडी, दीपक रावत, गोपीनाथ खरेल, हरिभक्त कँडेल, निर्मल पाण्डे र बुद्धिसागर रिमाल लगायतका सदस्यहरु रहेका छन्।
‘युनाइटेड तक्षशिला एजुकेशन’ले कक्षा ११ र १२ मा बायो साईन्स, म्यानेजमेन्ट, कम्प्युटर साईन्स, होटल म्यानेजमेन्ट, एजुकेशन र मानवीकि संकायमा अध्यापन गराउने गरी सञ्चालन गरिएको अध्यक्ष सापकोटाले बताएका हुन्।
उनका अनुसार कक्षा संचालन गैँडाकोट ५ स्थित विजय सामुदायिक शिक्षा सदनको भवनमा हुनेछ । पत्रकार सम्मेलनकै क्रममा बोर्डका अध्यक्ष सापकोटाले जिल्ला भरि रहेका विभिन्न बिषयगत विद्वान व्यक्तिहरुको बिचमा गरिएको लामो सामुहिक प्रयासपछि गुणस्तरीय शिक्षा प्रदान गर्न यस संस्थाको जन्म भएको बताएका थिए।
‘युनाइटेड तक्षशिला एजुकेशन’ बन्नको लागी गैँडाकोटमा रहेका साइनिङ, बालविकास, अमर इङ्गलिस, विजय सामुदायिक, स्मलहर्ट, एभरग्रिन, ज्ञानकुञ्ज, युनिक गरी ८ वटा विधालय , देवचुलीका कुमारवर्ती , वाइज भिजन , नवल र मुनलाइट गरि ४ वटा विधालय , कावासोतीका वाइज भिजन , लुम्बिनी , गण्डकी र आरम्भ गरि ४ वटा विधालय, हुप्सेकोटको शिद्धार्थ शान्ति निकेतन , मध्यविन्दुका नेपाल ग्रीन भेली,लिटल स्टेप र नारायणी गरि ३ वटा विधालय , विनयी त्रिवेणीका लखन थापा , ब्लु स्टार र शान्ति दिप गरि ३ वटा विद्यालयले सहकार्य गरेका छन् । ‘युनाइटेड तक्षशिला एजुकेशन' संचालनमा उल्लेखित २३ विधालय सहित ७ जना व्यक्ति गरी ३० जनाको लगानी रहेको छ । यो संगै उक्त उल्लेखित विद्यालयहरुमा यस वर्ष देखी कक्षा ११ मा भर्ना नलिइने अध्यक्ष सापकोटाले जानकारी दिएका छन्।
यस्तै युनाइटेड तक्षशिलाका सञ्चालक निर्मल पाण्डेले यस संस्थामा नवलपुर जिल्लाकै उत्कृष्ट बिज्ञान प्रयोगशाला सहित बिज्ञ शिक्षकहरु रहेकाले विज्ञान विषय पढ्नको लागी अन्यत्र जानु नपर्ने कुरामा आफु बिश्वस्त रहेको बताएका थिए। उनले कक्षा ११ र १२ को लागी सुविधा सम्पन्न कक्षा कोठा, सुविधा सम्पन्न प्रयोगशालाहरु सहित प्रोजेक्टर लगायतका शैक्षिक सामग्री सहितको व्यवस्थापन मिलाइएको जानकारी दिएका छन्।
सोमबारमात्रै साढे २२ सय विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको पत्रकार भेटघाटका क्रममा जनाइएका थियो ।‘युनाइटेड तक्षशिला एजुकेशन’ मा बिधार्थीहरुको चाहना बमोजिम बिहानी र दिवाकालिन सत्र गरी दुई सिफ्टमा कक्षा सञ्चालन हुनेछन् जसको लागी बिहानी सत्रको लागी विनोद गौतम र दिवाकालिन सत्रको लागी भोलाराज दवाडी कोअर्डिनेटरको रुपमा रहेका छन्।