देवचुली, भदौ १०
कृषला सापकोटा
नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर बजार मात्र होइन गाउँ गाउँमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।
पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन घोर तपस्या गरे पनि मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन रहेको देवचुलीकी पुस्पा अर्यालले बताउँनुभयो ।
नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । हिजोआज सहरी क्षेत्रको तीज गरुङगो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको देवचुलीकी मिना भन्डारीको गुनासो रहेको छ ।
मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अको विशेषता बन्दैछ । तीजमा गीत–संगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुस्ख, ईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुनगनुनाउछन् ।