देवचुली
देवचुली नगरपालिकाको आयोजनामा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरि मनाइएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । हरेक वर्ष विभिन्न कार्यक्रम गरि मनाउने असारे १५ यो वर्ष पनि हिले दौड र धान रोपाई प्रतियोगिता आयोजना गरि मनाइएको छ ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले धान रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले देवचुली नगरपालिकाले यो वर्ष कृषि वर्षलाई लिएको र यसलाई सफल बनाउन लागि रहेको बताउनुभयो । उहाँले धानमा उत्पादकत्व बढाउन विभिन्न विषादीको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताउुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर उप–प्रमुख पार्वती तिवारीले देवचुली नगरपालिकाले नगरसभाबाट कृषिमा धेरै बजेट विनियोजन गरिएको बताउँदै अब कृषिबाटै किसान आर्थिक र समृद्ध हुन आवश्यक रहेको बताउनुभयो । अबको आवश्यकता उद्यमशीलता रहेको भन्दै जग्गा जमिन बाँझो नराखि उत्पादकत्वलाई बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला हिले दौड प्रतियोगितामा निता चौधरी प्रथम, पुरुष तर्फ रमन महत्तो प्रथम भएका थिए भने धान रोपाइ प्रतियोगितामा सुन्दरी थारु प्रथम भएकी थिइन् । प्रथम भएका तीनैजनालाई नगद पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रममा देवचुली नगरपालिका सिर्जनशील आमा समूहका महिला दिदीबहिनीहरुले धान दिवसको अवसरमा गीत गाएर कार्यक्रमको सुरुवात गरेका थिए ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले, वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, देवचुली जेसीजका अध्यक्ष सन्तोष काफ्ले, सिर्जनशील आमा समूहका अध्यक्ष लालुमाया गौतम, विभिन्न व्यक्तित्व, किसानहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका कृषि शाखा अधिकृत नरेन्द्र भण्डारीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा देवचुली जेसिज, जनजागृती आमा समूह र सिर्जनशील आमा समूहको सहकार्य रहेको थियो ।