देवचुली,
देवचुली नगरपालिकाको दुम्कौलीमा अवस्थित चौधरी उद्योग ग्राममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सि.जी.आई.पिको आयोजना र पुरानो मेडिकल कलेज चितवनको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिबिरमा चौधरी उद्योग ग्राममा कार्यरत ३ सय श्रमिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
पुरानो मेडिकल कलेजका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गा न्यौपानेका अनुसार शिविरमा पिसाव सम्बन्धी, दाँत, आँखा, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी तथा नशा रोग सम्बन्धी बढि बिरामी फेला परेको बताउनुभएको थियो ।
सि.जी.आई.पिका वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौलाले उद्योगमा काम गर्ने मजदुर तथा कर्मचारीको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हरेक वर्ष संचालन गरिएको बताउनुभयो । साथै उहाँले महिला मजदुरहरुको स्वास्थ्यमा धेरै समस्या देखिएको हुनाले आफ्ना समस्यालाई खुलेर चिकित्सकसँग राख्न अनुरोध गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले उद्योगमा रहेका कर्मचारी र मजदुरको स्वास्थ्य प्रति संवेदनशील भएकोमा सि.जी.आई.पि प्रति खुशी व्यक्त गर्नुभएको थियो ।
उहाँले विगतका दिन देखि नै देवचुली नगरपालिकाले उद्योगका कर्मचारी तथा श्रमिकहरुलाई कोभिड-१९ को बेला होस् या अरुबेला, नगरपालिका स्वास्थ्य शाखाले सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि श्रमिकको स्वास्थ्यलाई लिएर नगरपालिका गम्भीर रहेको बताउनुभयो ।
उद्योगका जनस्वास्थ्य अधिकृत सागर बस्ताकोटीका अनुसार चौधरी उद्योग ग्रामले उद्योगमा कार्यरत मजदुरहरुका लागि हरेक वर्ष शिविर संचालन गर्दै आइरहेको छ । शुक्रवार सम्पन्न स्वास्थ्य शिविरमा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजका सिनियर म्यानेजर दुर्गा न्यौपाने, मधुसुदन ज्ञवाली, खड्क पौडेल, सुनिल जगन्नाथ पाटिल, डा. निर्मल शाह, गोविन्द रेग्मी लगायतको सहभागिता रहेको थियो ।