देवचुली,
देवचुली नगरपालिकाको बजेट सहितको दोस्रो नगरसभा तथा चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । देवचुली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९१ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । पालिकाको सभाहलमा शुक्रबार नगरउप्रमुख पार्वता तिवारीले ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।
तिवारीले चालुतर्फ रु ५५ करोड १४ लाख ५३ हजार ९ सय ६४ र पूँजिगत तर्फ ३५ करोड ९९ लाख ८३ हजार ४ सय गरी व्यय कुल ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ को वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । जसमा सङ्घीय सरकारको सशर्त अनुदान ४० करोड ३१ लाख ९९ हजार, वित्तीय समानीकरण अनुदान १३ करोड ७० लाख, विशेष अनुदान ९० लाख र राजस्व बाँडफाँड ११ करोड ४८ लाख, यसै गरी गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ८३ लाख ७० हजार र राजश्व बाँडफाँड बापत रु ५ करोड, विशेष अनुदान तर्फ रु ४० लाख र समपुरक अनुदानतर्फ रु ६० लाख, नगरपालिकाको आन्तरिक आय ६ करोड ३६ लाख ५० हजार, र चालु आर्थिक वर्षको नगद मौजदात बैंक अल्या बाट रु ८ करोड ८४ लाख १८ हजार ३ सय ६४ गरी कुल कुल ९१ करोड १४ लाख ३७ हजार ३ सय ६४ आय हुने अनुमान प्रक्षेपण गरिएको छ ।
देवचुली नगरपालिकाले सामाजिक विकास क्षेत्रतर्फ ४४ करोड २३ लाख ९५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ८ करोड ५४ लाख ६५ हजार, पूर्वाधार विकास क्षेत्र तर्फ १६ करोड ९२ लाख ६२ हजार, वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ २ करोड ७९ लाख ८० हजार र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ करोड ४१ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । यस्तै कृषि सेवा र पशु विकास, शिक्षा, स्वास्थ्य, देवचुलीको पर्यटन क्षेत्रको विकास, प्रकृति प्रकोप लगायतका क्षेत्रहरुमा बजेट विनियोजन गरिएको उपप्रमुख तिवारीले बताउनुभयो ।
नगर सभामा नगर प्रमुख हरिप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जसमा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग, आयुर्वेद, आर्थिक विकास क्षेत्र कृषि विकास, पशु सेवा, सहकारी क्षेत्र उद्योग तथा व्यापार व्यवसाय, भू–संरक्षण तथा भू–उपयोग, पर्यापर्यटन, राजस्व, श्रम तथा रोजगार, पूर्वाधार विकास,वन वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह, संचार तथा सूचना प्रविधि, सामाजिक सुरक्षा तथा पञ्जीकरण जस्ता विभिन्न कार्यक्रमलाई समेटिएको छ ।
प्रगति प्रतिवेदन, बजेट तथा कार्यक्रममा नगर सभाका सदस्यहरुओम प्रकाश तिवारी, मानकुमार रानाभाट, चित्रबहादुर थापा, नरबहादुर थापा, सुभोचन्द्र सुवेदी, रामबहादुर सोमै, मनकुमारी वि.क, गुमबहादुर थापा मगर लगायतले विभिन्न विषयमा प्रश्न गरेका थिए ।
नगरसभामा विद्यायन समितिका संयोजक रहनुभएका एकदेव पौडेलले देवचुली नगरपालिकाले निर्माण गरेको नगर प्रहरी ऐन २०८१ र खानेपानी ऐन २०८१ को विषयमा सभामा प्रस्तुत गर्नुभएको थियो । नगरसभाको अध्यक्षता देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले गर्नुभएको थियो । नगरसभाको संचालन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले गर्नुभएको थियो ।