काठमाडौं
करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकको विवरण सीआईबीले खुलाएको छैन ।
सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक नगरेको हो । पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो ।
दास्रो चरणको अनुसन्धान लगभग अब पूरा भएको सीआईबीले जनाएको छ ।
कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।
सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ ।
तस्करीको सुनको कारोबार सजिलो नेपाल र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परेका छन् भने सुन तस्करीकै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् ।
सुन तस्करीमा डिजिटल वालेट : एक वर्षमै ८२ अर्बको कारोबार !
जसमध्ये २ जना दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । बाँकी ११ जना सीआईबीको हिरासतमा छन् । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारतकै धिरज दिनेश वैटे, भारत महाराष्ट्रका प्रशान्त गणेश वजवलकार छन् ।
सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ व्रह्मदत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाईं, थर्कमान भनिने कान्छा लामा, राजु र टासी भोटे भनेर चिनिने कंगा चासी सीआईबीको हिरासतमा छन् ।
पेवेल प्रालिका अध्यक्ष भीमप्रसाद तिम्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य, सुरज शमशेर जबरा, सजिलो पेका फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशील जाकि बन्जा, कश्यप मानन्धर, लालबहादुर कुँवर र अरुण कुमार यादव सीआईबीको हिरासतमा छन् ।
के हो ६० किलो सुन तस्करी प्रकरण ?
चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरुपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजश्व अनुसन्धान विभागले २ साउन २०८० मा सुन बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा टोखामा सुन पगाल्ने कारखानासमेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्ने मेसिन बरामद भएको थियो । १३ साउनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ समातिए, जो तस्करीको सुन व्यवस्थापनमा संलग्न रहेको प्रहरीको दाबी छ ।
दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरुसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठायो ।
एमालेले आयोग गठनको माग गरिरहेका बेला राजस्व अनुसन्धान विभागले संगठित कसुरमा अनसन्धान गर्नुपर्ने देखिएको भन्दै २० साउन सीआईबीले अनुसन्धानको जिम्मा पायो ।
अनुसन्धानपछि सीआईबीले २७ भदौमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गर्दै २० जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये ठमेलको भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेका २६ जनामध्ये रुक्मणी सुब्बा मात्रै ५ लाख धरौटीमा छुटेकी थिइन् ।
एलेक्स भनिने याओ पुचेङ, लि वेन टिसुङ, लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि अहिले पनि कारागारमै छन् ।
साभार ः अनलाईनखबरबाट