देवचुली,
अमरज्योति सामुदायिक वन उपभोक्ता समूह देवचुली १, २, ४ र ५ को विशेष साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको सभाहलमा देवचुली नगरपालिका वडा नं ४ का वडाध्यक्ष गिरबहादुर थापा क्षेत्री रामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष थापाले सामुदायिक वनले विभिन्न कार्ययोजना बनाउन आयोजना गरिएको विशेष साधारणबाट पाश गर्नुपर्ने बताउनुभएको थियो ।
उहाँले विधि र विधानमा टेकेर संस्थाले कुनैपनि गलत काम नगर्न आग्रह गर्दै सामुदायिक वनले सामाजिक कार्यमा अग्रसर रहेको बताउनुभयो ।
अमरज्योति सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८०/०८१ को विशेष साधारण सभामा खेलमैदान निर्माण, खानेपानी योजना, वनमा पर्यापर्यटनको विकास, विधान संशोधन, पिकनिक स्पट तथा होमस्टे, वन डढेलो नियन्त्रणका लागि ट्र्याक निर्माण लगायतका विषयमा निर्णय गर्नका लागि विशेष साधारण सभा बोलाएको हो। नेपालमा वन क्षेत्रभित्र कुनै राष्ट्रिय योजना तथा विशेष कार्य गर्नुपर्दा वन नियमावली २०७९ को अनुसूची १९ र वन ऐन २०७६ को दफा ४२ को उपदफा ५ बमोजिम विशेष साधारणसभा बोलाउनुपर्ने उल्लेख छ। अमरज्योति सामुदायिक वनले वन क्षेत्रमा गौरवका योजनाहरु अघि बढाउन लागेकाले विशेष साधारणसभाको आयोजना गरेको हो।
अमर ज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रूचालले वन समूहलाई अगाडि बढाउन उपभोक्ता, विभिन्न संघसंस्थाहरूको महत्वपूर्ण योगदान रहेको र आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा शान्तिगैरा टोल विकास संस्थाका अध्यक्ष धनबहादुर लुङ्गेली, देवचुली वडा नं ५ का वडा सदस्य नर बहादुर थापा, दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभाेत्ता सस्थाका उपाध्यक्ष पवन कुमार बुढाथाेकी, सल्लाहकार सदस्य यमनाथ बस्ताकोटी, राजनीतिक दलको तर्फबाट दिपेन्द्र थापा, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका उपाध्यक्ष कमलप्रसाद वाचे, सव डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत सुवास अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वन समूहका सदस्य खिमलाल उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो भने समूहका सचिव कान्ता पण्डितले सहजीकरण गर्नुभएको थियो ।