देवचुली,
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दलदले शाखाद्वारा पशुपालन किसानलाई व्यवसायिक तालिम सुरु गरिएको छ । बुधबार दलदले साहारा पाटी प्यालेसमा निर्धन उत्थान लघुवित्त संस्थामा रहेका सेयर सदस्यलाई तीन दिने व्यवसायिक गाई/भैंसी तालिम सुरु गरिएको हो । देवचुली नगरपालिका वडा नं १४ का वडाध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यतामा तालिमको शुभारम्भ गरिएको हो ।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका थापाले लघुवित्त संस्थाका विषयमा फैलिएका भ्रामक सूचनाले सबैमा नकारात्मक प्रभाव परिरहेको समयमा निर्धनले सबै लघुवित्त संस्था गलत हुँदैन्न भन्ने प्रमाण गरेको बताउनुभएको थियो । साथै उहाँले आफ्ना सेयर सदस्यको आम्दानी स्रोत र व्यक्ति विकासका लागि आयोजना गरिएको तालिमलाई महत्वपूर्ण ढंगले दिन प्रशिक्षार्थीलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय भरतपुरका अधिकृत परमेश्वर चौधरीले संस्थाले सदस्यहरुलाई उपलब्ध गराउने वित्तीय साक्षरता तालिम, सीप विकास तालिम, उद्यमशीलता तालिम, अभिभावक अन्र्तक्रिया गोष्ठी, प्रत्येक वर्ष ७ जनालाई प्रदेशस्तरीय उत्कृष्ठ लघु उद्यमशीलता पुरस्कार प्रदान र सार्वजनिक सुनुवाई गर्दै आइरहेको विषयमा जानकारी गराउनुभएको थियो ।
यसैगरि कार्यक्रममा निर्धन लघुवित्त वित्तीय संस्था लिमिटेड दलदलेका शाखा प्रमुख शान्ति सापकोटाले संस्था स्थापना देखि हालसम्म सेयर सदस्यका क्षेत्रमा विगत देखि नै यस्ता थुप्रै कार्यक्रम गरिएको विषयमा जानकारी गराउनुभएको थियो । साथै उहाँले लघुवित्तलाई जनताले गलत तरिकाले बुझिरहेको र यसका विषयमा नेपाल सरकारलेपनि व्यवास्था गरेको बताउँदै त्यस्ता गलत सूचनालाई विश्वास नगर्न सम्पूर्णं सेयर सदस्यलाई आग्रह गर्नुभएको थियो ।
पहिलो दिन देवचुली नगरपालिका पशु सेवा शाखा डा.निकिता शर्माले प्रशक्षिण दिनुभएको थियो । उहाँले पशुपालन कसरी व्यवसायीकरण गर्ने जस्ता विभिन्न विषयमा प्रशक्षिण दिनुभएको थियो । ज्ञानु शर्माको अध्यक्षतामा भएको कार्यक्रम निर्धन लघुवित्त वित्तीय संस्था लिमिटेडका विष्णु सापकोटाले सहजीकरण गर्नुभएको थियो । तालिममा ३५ सेयर सदस्यको उपस्थिति रहेको थियो ।