देवचुली,
देवचुली नगरपालिकाको मुख्य बजारमा पर्ने दलदले–भाग्यपुरी बाटो स्तरोन्नतीको कार्य तिव्र गतिमा नहुँदा दुर्घटनाको जोखिम बढेको छ । बाटो निर्माणले गति नलिँदा दुर्घटनाको जोखिम मात्रै बढेको छैन् , यस क्षेत्रमा व्यवसाय गर्ने व्यासायी पनि मर्कामा परेका छन् ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक बर्ष २०७९–०८० को बार्षिक कार्यक्रम अनुसार दलदले –कुमसोत डबल लेन सडक निर्माण योजनाका लागि साढे २ करोड रकम विनियोजित भएको थियो । एक वर्षमा सक्ने लक्ष्य राखिएको बाटो डेढवर्ष सम्म पनि सम्पन्न नहुँदा स्थानीय आजित बनेका छन् ।
अहिले दलदले चोक देखि उत्तरपट्टिको ७ सय मिटर मुख्य बाटोमा ग्राबेल बिछ्याएर छोडिएकोे छ । दैनिक यात्रा गर्ने विद्यार्थी, कर्मचारी, व्यवसायी लगायत अन्य यात्रुलाई बाटोका कारण यात्रा गर्न समस्या भएको छ । ग्राबेलका कारण बाटोमा यात्रा गर्ने यात्रु दिनहुँ दुर्घटनाको जोखिममा पर्ने गरेका छन् । दैनिक साना तथा ठूला दुर्घटनाका घटनाहरु घटिरहेका छन् ।
बाटोकै कारण यहाँ व्यवसाय गर्ने व्यवसायी पनि मर्का परेको व्यवसायी बताउँछन् । आर्थिक मन्दीका कारण व्यवसाय नै विस्थापित भइरहेको समयमा निर्माणाधीन दलदले–भाग्यपुरीको बाटो नबन्दा व्यवसायीमा थप चिन्ता बढेको छ ।
बाटो निर्माण कार्यलाई तिव्रता दिन वडा नं १३ को वडा कार्यालयमा दैनिक स्थानीय र व्यवसायीको गुनासो आउने गरेको देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेलले बताउनुभयो । उहाँले ठेकेदार र पूर्वाधार विकास कार्यालय नवलपुरमा पटक–पटक बाटो निर्माणलाई तिव्रता दिन पहल गरिएको बताउनुभुयो ।
बाटो निर्माणको जिम्मा पाएको देवचुली निर्माण सेवाका ठेकेदार मोहनसिंह खण्डलुकले बजेट अभावका कारण बाटो निर्माण कार्यलाई तिव्रता दिन नसकिएको बताएका छन् । उनले बजेट निकासा भए लगत्तै काम सम्पन्न गर्ने बताए ।
यो विषयमा पूर्वाधार विकास कार्यालयले बजेट अभाव भएको स्विकार्दै बाटोमा राखेको ग्राबेल सम्याउन लगाई असार २० गतेसम्म बाटो निर्माण सम्पन्न गर्ने बताएको छ ।
विगतका बर्षहरुको बर्खायाममा देवचुली नगरपालिकाको उत्तरी भेगबाट बग्ने टोक्रे खोला, देउसत खोला र बौलाहा खोलाको नहरबाट खेतबारीसम्म आउने साना कुलोहरुबाट ओभरफ्लो भई आएको बाढीले बजार क्षेत्र डुबानमा पर्ने गथ्र्यो । जसले गर्दा धनजनको क्षति भएको थियो ।