देवचुली,
“भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी लचिलोपन” भन्ने नाराका साथ विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइरहेको छ । सोही अवसरमा आभानी मिडिया प्रा.लि १०३.८ ह्याप्पी एफ.एमको आयोजना र प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सहकार्यमा शनिबार देवचुली उद्योग वाणिज्य संघको सभाहलमा वातावरण संरक्षणमा अबको बाटो विषयमा प्यानल बहस साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले वन वातावरण प्रदूषण र यसको रोकथामका निम्ति स्थानीय तहले र सम्बन्धित निकायले अबको बाटो सहि रोज्नुपर्ने कुरामा जोड दिनुभएको थियो । साथै उहाँले वातावरण संरक्षणका विषयमा उठेका विषयलाई आगामी निति तथा कार्यक्रममा कार्यनव्यन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्यानल बहस कार्यक्रममा जिल्ला वन कार्यालय नवलपुरका प्रमुख बसन्त केशव अधिकारी, जिल्ला खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खिमानन्द भुसाल र वातावरण विज्ञान सप्तगण्डकी बहुमुखी क्याम्पसका उप–प्राध्यापक ध्रुव आचार्य वक्ताको रुपमा हुनुहुन्थ्यो भने ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिल सहजकर्ताको रुपमा हुनुहुन्थ्यो । प्यानल बहसमा वातावरणसँग वनको, पानीको र शिक्षाको अन्तरसम्बन्ध र अवस्था कस्तो छ ? कस्तो हुनुपर्छ ? साथै अबको बाटो के भन्ने विभिन्न विषयमा बहस गरिएको थियो । बहसमा उठेका गुनासा र प्रश्नलाई सम्बोधन गर्दै वक्ताहरुले वातावरण संरक्षणका निम्ति सबै सरोकारवालाहरु एकजुट भएर लाग्न अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष कमल बाचेले शुभकामना मन्तव्य राख्नुभएको थियो । साथै प्यानल बहसमा धुसेरी सामुदायिक वनका अध्यक्ष पार्वती रावल, एकता सामुदायिक वनका अध्यक्ष यमप्रसाद भुसाल, नेपाल नमूना मा.विकी छात्रा अनिता न्यौपाने, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थका सचिव ईन्द्रमणी भुसालले आफ्ना जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले वातावरण संरक्षणमा अब कस्ता योजना बनाउन सकिन्छ भन्ने विषयमा प्यानल बहस साथै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभएको छ । उहाँले वातावरण संरक्षणको शिक्षा आजको आवश्यकता भएकाले भावी सन्ततीलाई यसको बारेमा बुझाउन आवश्यक रहेको भन्दै संचार माध्यमको तर्फबाट छुट्टै प्रयास रहेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, सामुदायिक वनका अध्यक्ष, खानेपानी संस्थाका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न राजनीतिक दलका व्यक्ति, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण ह्याप्पी एफ.एमका समाचार शाखा प्रमुख एलिना केसीले गर्नुभएको थियो ।