हेलो छोरा !
हावाले हल्लाएर झारेको
मखमली फूलको थुँगा जस्तो हाम्रो माया
समयसँगै एकदिन ओइलाएर जानेछ
म भन्दिनँ
मैले उपलब्ध गराएका
यावत सुबिधाहरुको पिरामिडमा उभिएर
तिमीले संसार नियाल्यौ
मैले हिडाएको बाटोको स्वरुप फेरिए जस्तै
उमेरसँगै तिम्रो चाहना / सपना / स्वाद
र दौतरीहरु फेरिए
हामी बीचको घनिष्टता फेरियो
र तिमी क्रमश अर्कैको हुँदै गयौं ।
जन्मदिन मृत्युको अभिव्यक्ति हो सायद
रत बर्सेनि नजिकिँदै जान्छौं हामी उतिर
बास्तबमा,
तिमी जन्मिएको दिन
तिम्रो हैन
मेरो अर्को जन्म भयो
र, फेरियो
चाहाना / सपना / सोचको परिधि
र, थपियो जिम्मेवारी ।
कखरा जस्तो
सधै दोहोर्याइ रहन पाए
कति सुन्दर हुन्थ्यो बालापन
धरातल छोडेर
हावामा उड्नेहरुको परिवेशमा बाँचिरहेका हामी
हरेक प्रहर
बिभाजित भइरहेछौ
र, बिताइरहेछौ
रद्दी जिन्दगी
मलाई थाहा छ
मैले जस्तो
लोती चुँडिएर
पटक पटक जोडेको
प्लास्टिकको चप्पल लगाउनुपर्ने छैन तिमीले,
टालटुल गर्दागर्दै छिद्रछिद्र भएको
पाइजामाको इँजारघरलाई खुत्रुके बनाइएर
लुकाउनु पर्ने छैन
फेरि चपाउनका लागि साँचेको चुइँगम ,
केही चानचुने पैसा र गुच्चाहरु ।
तिम्रो उमेरमा
तिमीले जस्तो
न्यानो सोफामा बसेर
स्मार्ट फोनमा
"काग दाजै"
"ताराबाजी लै लै"
"जोनी जोनी" हेर्ने अवसर
कहिल्यै जुरेन मलाई
केवल आँगनको एक छेउमा बसेर
गट्टी र धुलोमा सिन्का लुकाइ खेलेर
गुज्रियो बालापन ।
अब त तिमीलाई ,
अनलाइनबाट मगाएको
बासी परिकारको
बासी स्वादमा रमाउने बानी परिसक्यो
तर तिमीले गुमायौ
मैले जस्तो
खेतको आलिमा बसेर
पोलेको आलु
पातमा पकाएको कोदोको रोटी
सक्खर -चिउरा
मिस्री घोलेर बनाएको
सर्बत पानी
र, यावत् गाउँले परिकारहरुको
स्वाद चाख्ने बहुमूल्य अवसर ।
समयले परिवर्तन गरेको
हाम्रो जीवनशैली बिच
जे जस्तो भिन्नता भएपनि
तिमी प्रति धेरै अभिभारा बाँकी छ मेरो
मलाई मेरा बाले दिएको संस्कार
मैले तिमीलाई हस्तान्तरण गर्दै जानुछ
क्रमागत रुपमा
र, बनाउनु छ
म हुन नसकेको
असल मानिस ।
कहिलेकाही
छोराछोरी भएर पनि
नभए जसरी
एक्लै बाँचिरहेका छिमेकीहरुलाई देख्दा
मनमा यही एउटा कुरा खेलिरहन्छ
छोरा !
बागमतीको पानी जस्तो
उमेरसँगै धमिलीदै गएका हाम्रा आँखाहरुले
कति दिन बोकेर हिड्लान् रु
ढाकरमा सातुसामल बोके जसरी
धैर्यताको सागर
एकदिन त अवस्यै
हामी बीचको दूरी
एक भूगोल टाढा हुनेछ
र, सागर आँसु बनेर बगिरहनेछ अहोरात्र
त्यसपछि
भित्तामा झुन्डिएको फोटो
सोकेसमा रहेको गुडिया
धमिराले खाइसकेको
पुरानो पलङको घर्रा भित्र
तिम्री आमाले जतन साथ राखेको भोटो,
अनि ,भर्याङ उक्लिदा ओर्लिदा
तिमीले कोरेको अमूर्त आकृतिलाई
अनवरत छोएर
एक्लै बाँच्ने अभ्यास गर्नुपर्ने छ मृत्युपर्यन्त
२०८१/०२/१६
मनोज बिराली, काठमाडौं