देवचुली,
देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेको देवचुली माध्यमिक विद्यालयमा 'बुक फ्रि डे' अन्तर्गत सांस्कृतिक झलक तथा पोसाक प्रदर्शन एवम् वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । शुक्रबार विद्यालयले विद्यार्थीहरुलाई आफ्नो र अन्य परम्परागत पोसाक चिनाउनका लागि विशेष कार्यक्रमको आयोजना गरि 'बुक फ्रि डे' कार्यक्रम सम्पन्न गरेको हो ।
देवचुली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइरालाको अध्यक्षता रहेको कार्यक्रममा देवचुली वडा नं १६ का वडाध्यक्ष केशरबहादुर गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा देवचुली माध्यमिक विद्यालयका प्रधानाध्यपक नारायण प्रसाद भण्डारीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सम्पूर्ण जात, धर्म, संस्कृति, भाषा र भेषभुषाको सम्मान साथै संरक्षण गर्न सिकाइएको बताउनुभयो । उहाँले मौलिक संस्कृतिका बारेमा नयाँ पुस्ता परिचित हुनुपर्छ भन्ने हेतुका साथ देवचुली मा विले फरक–फरक कार्यक्रम संचालन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा चित्रकला र हस्तकलामा उत्कृष्ठ हुने तहगत विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै शुक्रबार भएको वक्तृत्वकला प्रतियोगितामा दिक्षा कंडेल प्रथम, बसन्त घिमिरे द्धितीय र सुशान्त ढकाल तृत्तय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका वडा केशवराज गौतमले पढाइसँगै विद्यार्थीले आफ्नो संस्कृति, भेषभुषा, भाषा लगाएतका कुरामा जानकार हुनुपर्ने भन्दै विद्यालयमा शिक्षा मात्रै होइन धर्म र संस्कृतिको बारेमा समेत ज्ञान दिन विद्यालयलाई आग्रह गर्नुभएको थियो । उहाँले देवचुली मा विद्यालयले विद्यार्थीलाई आफ्नो संस्कार, संस्कृति सिकाउने र यसको संरक्षणका लागि कार्यक्रम संचालन गरेको प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृति झल्कने पोसाक सहित नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, निर्माण समितिका अध्यक्ष एवम् अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयको शिक्षक भञ्जुल कंडेलले गर्नुभएको थियो ।