काठमाडौँ
वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा वाग्मती नदी किनारमा अभियान्ताद्वारा उक्त सङ्ख्यामा बिरुवा रोपिएका हुन् ।आज यहाँ वाग्मती सफाइ महाअभियानको १२औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले वाग्मती सफाइसँगै नदी किनारमा छ हजार बिरुवा हुर्काइएको जानकारी दिए । “नदीका किनारमा देखिएका रुखहरु हामीले हुर्काएका हौँ”, उनले भने, “बिरुवा धेरैले रोपेका होलान् तर हामीले हुर्काएका छौँ । मृतप्रायः नदीलाई जीवन दिए पनि अझै सोचेजस्तो भएको छैन ।”
सफाइ महाअभियानलाई यति धेरै वर्षसम्म यो अभियानले निरन्तरता पाइराख्नु ठूलो उपलब्धि रहेको पूर्वमुख्यसचिव पौड्यालले बताए । उनका अनुसार हालसम्म वाग्मती किनारबाट करिब २१ हजार मेट्रिकटन फोहोर उठाइसकिएको छ । उनले सफाइ अभियानकै दबाबमा बालुवा चोरीनिकासी पूर्णरुपमा बन्द भएको जानकारी दिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आममानिसमा फोहोर गर्ने संस्कारको अन्त्य हुन नसकेको बताए । उनले भने, “जसरी तपाईंहरूले सफाइ अभियानमा समय दिनुभएको छ यो सहभागिताले निरन्तरता पाइराख्नुपर्छ । वाग्मती सफाइमा राज्यका सम्बन्धित निकायले व्यवहारिक योजना बनाउन आवश्यक छ ।”
मन्त्री तामाङले नागरिकमा अभियानका बारेमा चेतना अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । सांसद सोविता गौतमले मानव सभ्यताको विकास नै नदीबाट भएकाले यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताइन् । उनले भनिन्, “फोहोरको उचित व्यवस्थापनका लागि कुहिने र नकुहिने छुट्याउने, जथाभावीरुपमा फोहर नफाल्नेलगायत विषयमा जनचेतना जनाउनु आवश्यक छ । मेरो सक्रिय जीवनमा नदी र प्रकृतिबारे आवाज उठाइराख्नेछु ।”
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले वाग्मतीलाई ढलमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । “वाग्मतीलाई ढल मुक्त बनाउने चुनौती छ । वाग्मतीको व्यवस्थापनका लागि ‘कोरिडोर’ निर्माण गरी ट्राफिक व्यवस्थापन सहज बनाएका छौँ”, उनले भने, “ढल मिसिने खोलामा पानी कसरी बढाउने भन्ने चुनौती छ । ढल प्रशोधन गर्न प्रविधि परीक्षण भइरहेको छ ।”
वाग्मती सफाइ महाअभियान २०७० साल जेठ ५ गतेदेखि सुरु भएको हो । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ थालिएको अभियानको यो ५७५ औँ साता हो । तिलगङ्गा आँखा अस्पताल नजिक आज भएको सफाइमा दुई सय अभियान्ताको सहभागिता थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङले नदी किनारमा बिरुवा पनि रोपेका थिए ।
साभार ः रातोपाटीबाट