देवचुली,
देवचुली नगरपालिकाको एक विद्यालयमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ ।
देवचुली नगरपालिकाको वडा नं १५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा विद्यार्थीहरुको बिच क्याप्टेन चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । विद्यालयमा विद्यार्थीहरूको नेतृत्वका लागि दाबी गरेका प्रतिस्पर्धीहरू बिच सहमति नभएपछि मतदान प्रक्रिया मार्फत चयन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा क्यालेण्डर चुनाव चिन्हका संगित रानाभाटले २ सय ५५ मत र भाइस क्याप्टेनमा टेवल चुनाव चिन्हका महिमा गाहा मगरले २ सय २६ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत कमल लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्याप्टेनमा तेजेन्द्र तिवारी, पुजा सुवेदी, सौगात बस्याल, विज्ञान बस्याल ३४ र भाइस क्याप्टेनमा शुभम भण्डारी, स्रिन शाह, सुजता खनाल, अञ्जली शाह र उज्जवल पाण्डेलाई पछि पार्दै रानाभाट र मगरले चुनाव जितेका छन् । क्याप्टेन र भाइस क्याप्टेन तर्फ गरि ६ मत बदर भएको थियो ।
मतदानमा विद्यालयका कक्षा १ देखि १० सम्मका ५ सय ८० जना विद्यार्थीहरूमध्ये ५ सय ५५ जनाले भाग लिएका थिए । विद्यालयले संसदीय चुनावको अभ्यास सहित एक साताको निर्वाचन प्रक्रिया हुँदै मतदानबाट विद्यार्थीहरूबाट क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको जनाएको छ । क्याप्टेन र भाइस क्याप्टेन पदमा उम्मेदवारी खुला गरिएको थियो । निर्धारित समय सीमाभित्र क्याप्टेन र भाइस क्याप्टेनमा गरि ११ जनाले मनोनयन दर्ता गरेका थिए ।
मतदानमार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको थियो । विद्यालयका कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरेर आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिइएको थियो । प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरूलाई मत समेत मागेका थिए ।
शुक्रवार दिउँसो १ बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि ५ वटा मतदान केन्द्र निर्धारण गरेर मतदान गराइएको थियो ।
निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरू मीन बहादुर दाहाललाई निर्वाचन आयुक्त, कमल लम्साललाई निर्वाचित अधिकृत, सीता पौडेल कक्षा १०, चेतनाथ ढकाल कक्षा ९, देवेन्द्रमणी त्रिपाठी कक्षा ८, धर्मराज भुसाल कक्षा ८, दिपेन्द्र ज्ञवाली कक्षा ६ लाई अधिकृतको जिम्मेवारी तोकिएको थियो ।
मतदानलाई सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ बस्याल र शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम भट्ट लगायतको उपस्थितिमा मतपत्र प्रदान गरि मतदान शुभारम्भ गरिएको थियो । नवविर्नाचित क्याप्टेन संगित रानाभाट र भाइस क्याप्टेन महिमा गाहा मगरले विद्यालयको शिक्षा र विद्यालयमामा हुने हरेक क्रियाकलापहरूलाई थप व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिसँग आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
विद्यार्थीका समस्याबारे ध्यानाकर्षण गराउन, विद्यालयको अतिरिक्त क्रियाकलापहरूमा सहजीकरण गर्न र विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गर्न र विद्यालयमा कक्षा ९ र १० को सामाजिक विषयमा व्यवहारिक शिक्षा प्रदान गर्ने मुख्य उद्धेश्यले यो कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक मीन बहादुर दाहालले बताउनुभयो ।