गैंडाकोट,
गैंडाकोट नगरपालिका वडा नं १७ मा रहेको अमरज्योति माध्यमिक विद्यालयले जनप्रतिनिधिलाई सम्मान गरेको छ । शुक्रबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि गैंडाकोट नगरपालिका वडा नं १६ र १७ का वडाध्यक्ष एवम् वडा सदस्यलाई सम्मान गरेको हो । विद्यालयमा अध्ययनरत अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको भन्दै विद्यालयले दुईवटा वडालाई सम्मान गरेको हो ।
गैंडाकोट वडा नं १६ ले अमरज्योति माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका अति विपन्न २० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । जसका लागि वडा नं १६ ले आर्थिक वर्ष २०८०/०८१ को २ लाख ५० हजार २ सय ५० रुपैया विद्यालयलाई प्रदान गरेको थियो ।
यसैगरि गैंडाकोट वडा नं १७ ले अमरज्योति माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका अति विपन्न १८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । जसका लागि वडा नं १७ ले आर्थिक वर्ष २०८०/०८१ को २ लाख रुपैया विद्यालयलाई प्रदान गरेको थियो ।
अमरज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवर्धन ज्ञवालीको अध्यक्षतामा जनप्रतिनिधिलाई सम्मान गरि धन्यवाद व्यक्त गरिएको छ। कार्यक्रममा बोल्दै गैंडाकोट वडा नं १६ का वडाध्यक्ष विनोद मल्लले विद्यार्थीले पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न वडाले रकम छुटाई अति विपन्न विद्यार्थीको भविष्यलाई जोगाउने प्रयास गरेको बताउनुभयो ।
यसैगरि वडा नं १७ का वडाध्यक्ष गोपी कंडेलले वडामा रहेका विपन्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिने उद्धेश्यले विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण कार्यलाई अघि बढाएको बताउँदै अहिले गैंडाकोट नगरपालिकाले पनि कक्षा १ देखि ५ सम्म निःशुल्क शिक्षा प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गादक्त सापकोटाले वडाको यो सहयोगले धेरै विद्यार्थीहरु शिक्षाबाट बन्चित हुन नपरेको भन्दै वडाहरुले गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले विद्यालयको शिक्षालाई गुण्स्तर बनाउन र भौतिक पूर्वाधारको विकासका निम्ति आगामी दिनमा वडाले थप सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा विद्यालयकी कक्षा १० मा अध्ययनरत छात्रा कृतिका भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र भुसालले स्थानीय सरकार आएको अनुभूति भएको भन्दै आगामी दिनमा पनि वडाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा यस्तै कार्यक्रम ल्याउन आग्रह गरेका थिए । अमरज्योति माध्यमिक विद्यालयकी सह–प्रधानाध्यापक निता न्यौपाने पन्थले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका शिक्षक एवम् कार्यक्रम संयोजक रोशन मल्लले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा विश्व उच्च रक्तचाप दिवसको बारेमा विद्यालयकी नर्सले रक्तचापको विषयमा जानकारी गराउनुभएको थियो । अमरज्योति माध्यमिक विद्यालयमा हाल ५ सय ७ जना विद्यार्थी अध्ययनरत छन् ।