देवचुली,
देवचुली नगरपालिकाको वडा नं १ - ५ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा देवचुली १ र ३ को वडा कार्यालय परिसरमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
आर्थिक बर्ष २०८०–०८१ को विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, वडा नं १ - ५ का वडाध्यक्षहरु, वडा सदस्य र देवचुली नगरपालिकाका विभिन्न शाखा प्रमुख एवम् नगरपालिकाका कर्मचारी, स्थानीयहरुको सहभागिता रहेको थियो ।
चालु आर्थिक बर्षको दुईवटा चौमासिक सकिए सँगै नगरपालिकाले हालसम्म गरेका प्रगति विवरणबारे देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले जानकारी गराउनुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुलाई आफ्नो जिज्ञासा राख्नको लागि खुल्ला गरिएको थियो । यस्तै उपस्थित स्थानीयहरुले खानेपानीमा समस्या, बाटोघाटो व्यवस्थापन, विद्युत, कृषिमा आवश्यक अनुदान दिनुपर्ने, लगायतका विभिन्न विषयमा माग र स्थानीय सरकारको ध्यानकर्षण रहनुपर्ने बताएका थिए ।
वडावासीको माग र जिज्ञासालाई नगरप्रमुख हरिप्रसाद न्यौपाने र विभिन्न शाखाका प्रमुखहरुले सम्बोधन गर्नुभएको थियो । स्थानीयको माग र जिज्ञासालाई सम्बोधन गर्दै वडावासीको हितमा रहेर काम गर्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले गर्नुभएको थियो ।