रजहर
लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्मा पेटको जटिल समस्या लिएर गतवर्ष असोजमा नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय आए । कब्जियतले निकै सताएका गायक शर्मालाई प्राकृतिक चिकित्सालय आएर उपचार गरेपछि नयाँ जीवन पाएजस्तो लाग्यो। शर्माले चिकित्सालयमा कब्जियतको समस्या लिएर ९ दिनसम्म बसेर उपचार गरेर फर्किएपछि अहिले तन्दुरुस्त भएर नयाँ गीत निकाल्न र विभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिन व्यस्त छन् ।
अर्का लोकप्रिय गायक रमेशराज भट्टराई पनि ढाडको नशा च्यापिएपछि र मोटोपनले सताएपछि आफ्नै गृह जिल्लामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पुगे। उनले गतवर्ष साउनमा १७ दिन र असोजमा ११ दिन सामुदायिक प्राकृतिक चिकित्सालय आई प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराई स्वास्थ्य लाभ गरे । साथै उनले प्राकृतिक जीवनयापन गरी आफ्नो शरीरबाट १० देखि १२ किलोसम्म तौल घटाएर अहिले फुरुङ्ग भएका छन्। रमेशराज भट्टराई पूर्ण स्वस्थ भई अहिले देशविदेशका कार्यक्रम र गीतसंगीतमा जमिरहेका छन्।
दुवै गायक गत महिना चिकित्सालयको साधारण सभाका बेलामा समेत १० दिन प्राकृतिक चिकित्सालयमा बसी स्वास्थ्यलाभ गरे।
यी दुई गायक शर्मा र भट्टराईले नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालयमा आफ्नो उपचार मात्रै गराएनन्, उनीहरूले प्राकृतिक चिकित्सा पद्धतिका बारेमा र सामुदायिक प्राकृतिक चिकित्सालयले दिने सेवाका बारेमा आम जनतालाई जानकारी दिने हेतुले अहिले गीत नै बजारमा ल्याएका छन् ।
स्वस्थ भई बाँच्न मन भए आहारविहार गतिलो खाम साथी
प्राकृतिक चिकित्सालय रजहर नवलपुर जाम साथी
प्राकृतिक आहारविहार, ध्यान, योगा, शारीरिक व्यायाम, समय सापेक्ष खानपान आदि जस्ता विषयलाई केन्द्रमा राखि सामुदायिक प्राकृतिक चिकित्सालयमा हुने स्वास्थ्य उपचार र प्राकृतिक उपचार पद्धतिका बारेमा गायक शर्मा र भट्टराईले स्वर दिएको सन्देशमुलक गीत रमेशराज भट्टराई युट्युब च्यानलमा राखिएको छ। गीतमा गायक पशुपति शर्मा र रमेशराज भट्टराईको स्वर रहेको छ। साथै उक्त गीतमा गायकद्वय शर्मा र भट्टराईको शब्द र संगीत रहेको छ । मारुनी डिजिटलबाट बजारमा ल्याइएको उक्त गीतको निर्देशन दुर्गा पौडेलले गरेका छन् । गीत निर्माणको सम्पूर्ण खर्च गायक भट्टराई र शर्माले गरेका हुन् ।
गीतको भिडियो लिंक :
https://www.youtube.com/watch?v=oOAIivMQD20