देवचुली
नेपाल नमुना माध्यमिक विद्यालय देवचुली १ को विधालय क्याप्टेनको रुपमा असिम भुर्तेल निर्वाचित भएका छन्। विधालयले शैक्षिक वर्ष सुरु भए संगै विधालयको क्याप्टेन र उप क्याप्टेनको लागी आज शुक्रबार निर्वाचनको आयोजना गरेको थियो।
विधालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विधार्थीहरुले मतदान गर्दै विधालयको क्याप्टेनमा असिम भुर्तेल र उप क्याप्टेनमा अनुष्का भण्डारीलाई निर्वाचित गरेको निर्वाचन समितिका संयोजक शशिकुमार लम्सालले बताएका छन्।
नव निर्वाचित उप क्याप्टेन भण्डारी नगर बाल सञ्जालको अध्यक्ष समेत हुन्। निर्वाचनमा क्याप्टेन भुर्तेलले ४ सय ५० मत र उप क्याप्टेन भण्डारीले ३ सय ५८ मत प्राप्त गरेका थिए। आज सम्पन्न निर्वाचनमा क्याप्टेन र उप क्याप्टेन पदको लागी ६ जना छात्र र ४ जना छात्रा गरि जम्मा १० जनाले उम्मेद्वारी दिएका थिए।
निर्वाचनको लागी असिम भुर्तेल, रुबेन फाल मगर , सन्देस पाठक , कबिर जैसी , सुभम सुबेदी , कृतेश भण्डारी , अनुष्का भण्डारी , पुर्बी पौडेल , पुर्णिमा राई र जिना खातुन लगायतका विधार्थीले उम्मेद्वारी दर्ता गराएका थिए।
निर्वाचनमा विधालय व्यवस्थापन समितिका अध्यक्ष पवन बुढाथोकी र देवचुली १ का वडा अध्यक्ष कृष्ण बहादुर के. सिले मतदान अधिकृतहरुलाई मतपेटीका हस्तान्तरण गरे लगत्तै दिनको २ बजे बाट निर्वाचनको प्रक्रिया सुरु गरिएको थियो।
यो संगै देवचुली २ का वडाध्यक्ष शरद घिमिरेले अनुगमन गरेको निर्वाचनको लागी ५ वटा मत पेटिकाको प्रयोग भएको थियो।