देवचुली,
देवचुली नगरपालिकाको विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रबार देवचुली नगरपालिकाको परिसरमा वडा नं १०, ११, १२, १३, १४ र १५ को सार्वजनिक सुनुवाई भएको हो ।
देवचुली नगरपालिकाले साविकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाई गर्ने उद्धेश्यले आर्थिक वर्ष २०८०/०८१ को विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्वन्धमा कार्यक्रम गरेको हो । सार्वजनिक सुनुवाईको पहिलो दिनको कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा समस्या र गुनासा राखेका थिए । सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, देवचुली नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारी, कृषि शाखा प्रमुख गगन कुमार भट्टराई, स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, शिक्षा शाखा अधिकृत नन्दलाल ढकाल लगायतले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाईमा देवचुली नगरपालिका १५ जना भन्दा बढिले प्रश्न गरेका थिए । प्रश्नको जवाफ दिँदै नगर प्रमुख न्यौपानेले स्थानीयको माग र जिज्ञासालाई सम्बोधन गर्दै वडावासीको हितमा रहेर काम गर्ने बताएका थिए । प्रमुख प्रशासकीय अधिकृत शर्माले कर्मचारीवाट सेवा प्रवाहमा हुने ढिलासुस्ती, बेवास्ता र अनियमितताका विषय भए आफुलाई जानकारी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं ११ का वडाअध्यक्ष तिलप्रसाद काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष सहित नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख एवं कर्मचारी, विभिन्न राजनैतिक, सामाजिक, संघसंस्था, टोलविकास, क्लव, समूह, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
देवचुली नगरपालिकाले आयोजना गरेको कार्यक्रमको संयोजन देवचुली मिडिया प्रालिले गरेको थियो ।