काठमाडौं
अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र समयावधिमा व्यापक परिवर्तन गरिएको छ ।
यसअघि अध्ययनपछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन दिन पाउनेमा अब यसलाई १५ वर्ष घटाएर ३५ वर्ष पुर्याइएको छ । त्यस्तै टीआर भिसाको अवधि पनि घटाइएको छ ।
बिहीबार अस्ट्रेलिया सरकारले गरेको घोषणाअनुसार स्नातकोत्तर पढेको विद्यार्थीले तीन वर्षको टीआर पाइरहेकोमा यसलाई घटाएर दुई वर्ष बनाइएको छ । यो परिवर्तन आगामी जुलाई १ देखि लागू हुनेछ ।
अस्ट्रेलियामा कार्यरत रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत गुप्ताका अनुसार भोकेसनल वा हाइअर डिग्री पढेर अस्थायी आवासको लागि आवेदन दिन अब ३५ वर्ष कटेको हुनुहुँदैन भने टीआरको अवधि पनि घटाएर कोभिड अघिको जस्तै १८ महिना बनाइएको छ ।
यसका अतिरिक्त अस्थायी आवास अनुमतिका लागि आफूले पढेको विषय वा हासिल गरेको सीप अस्ट्रेलियाको मध्यम र रणनीतिक सीपको सूचीमा सूचीकृत भएकै मध्य हुनुपर्छ ।
त्यस्तै स्नातक पढेको २ वर्ष, सामान्य कोर्षमा स्नातकोत्तरले २ वर्ष र मास्टर्स बाइ रिसर्च गरेकाले ३ वर्षको अस्थायी आवास अनुमति पाउनेछन् । विद्यावारिधि गरेकाहरूले पनि ३ वर्षको मात्र अस्थायी आवास अनुमति पाउनेछन् ।
सरकारले गरेको यी बदलावसँगै यसअघिको दुई वर्ष अस्थायी आवास अवधि बढाउने गरी सरकारले गरेको निर्णय रद्द भएको छ । नयाँ निमय लागू भएसँगै अस्थायी आवास अनुमति अवधिमा कुनै बढोत्तरी हुनेछैन ।
भारतीय विद्यार्थीलाई केही सहज
अन्य मुलुकबाट अस्ट्रेलिया आएर पढिरहेका विद्यार्थी यी नीतिगत परिवर्तनले केही कठिनाइ बढ्ने भए पनि भारतीय विद्यार्थीको हकमा भने यसको प्रभाव न्यून रहनेछ ।
गत डिसेम्बरमा भारत र अस्ट्रेलिया सरकारबीच भएको एक सम्झौतामा अस्ट्रेलियाको नयाँ आप्रवासन नीतिले अध्ययनपछिको अस्थायी भिसा नीति सम्बन्धी परिवर्तनबाट भारतीय विद्यार्थी प्रभावित नहुने उल्लेख छ । गत वर्ष हस्ताक्षर भएको इण्डिया- अस्ट्रेलिया कर्पोरेसन एण्ड ट्रेड एग्रिमेन्टबाट भारतीय विद्यार्थी लाभान्वित हुने भएका हुन् ।
खासगरी आईटी र टेक्नोलोजीमा स्नातक भारतीय विद्यार्थीले तीन वर्षको टीआर भिसा पाउनेछन् भने जुनसुकै विषयमा स्नातकोत्तर सकेकाले ३ वर्ष र विद्यावारिधि सकेका ४ वर्षको अस्थायी आवास अनुमति पाउने उल्लेख छ ।
साभार ः अनलाईनखबरबाट