देवचुली,
देवचुली नगरपालिकामा किशोर किशोरीहरुको क्षमता बिकास सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । बालबालिका तथा किशोरकिशोरीहरुलाई क्षमता विकास तथा सशक्तीकरण बिषयमा तालिम दिइएको हो । बैशाख ११ गते देखि १३ गतेसम्म संचालन भएको तालिममा बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो परिचय कसरी गर्ने, कार्यक्रममा अगाडि गएर कसरी बोल्ने, बालबालिकाको हक अधिकार, आत्मरक्षा र साइबर क्राइम जस्ता विभिन्न विषयमा तालिम प्रदान गरिएको थियो ।
तालिममा सहभागी बालबालिका तथा किशोरकिशोरीले तालिमले आँफूहरुको क्षमता अभिवृद्धि गरेको बताउँदै खुशी व्यक्त गरेका थिए । धेरै कुराहरु थाहा हुँदाहुँदै पनि आँफूहरुले आफ्नो दैनिक जिवनमा लागु नगरिएको भन्दै अब यसलाई निरन्तर अभ्यास गर्ने बताएका थिए । भविष्यमा पनि वडालाई यस्ता तालिम संचालन गर्न आग्रह गरेका थिए ।
समापन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले बालबालिकाका लागि वडाले आयोजना गरेको कार्यक्रमले उनीहरुमा क्षमता वृद्धि सँगै धेरै कुराको विषयमा ज्ञान प्राप्त हुने बताउनुभएको थियो । उहाँले तालिमबाट सिकेका कुरालाई आफ्नो दैनिक जिवन र समाजमा भएका बालबालिकालाई सिकाउन सके तालिमको सार्थकता हुने बताउनुभयो ।
तालिमको समन्वय गरेको आभानी मिडिया प्रा.लि ह्याप्पी एफ.एमका निर्देशक दिपेश कडरियाले तालिमले बालबालिकामा थप जिम्मेवार बनाएको बताउँदै भविष्यमा देवचुली १५ नं वडाबाट राम्रा बालबालिका उत्पादन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा तीन अवधिभर तालिममा सहभागी बालबालिकालाई प्रमाण पत्र वितरण गरिएको थियो । देवचुली नगरपालिका वडा नं १५ का वडाध्यक्ष सुरेश कुमार रानाभाटको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष रानाभाटले बालबालिकाको क्षमता अभिवृद्धि गरि उनीहरुलाई नेतृत्व विकासका लागि पनि तालिम संचालन गरेको बताउनुभयो ।
पहिलो दिन ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिल, दोस्रो दिन किशोरी अभियान्ता आशा वि.क र रेजिना घर्ती मगरले तालिम दिनुभएको थियो । तालिममा बाल अधिकार भनेको के हो, र किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित हिंसा तथा दुर्व्यवहारविरुद्ध कसरी प्रतिकार गर्ने, गुड टच र व्याड टच जस्ता विभिन्न विषयमा तालिम दिइएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १५ का वडा सदस्य माया सुवेदी, अनिता श्रेष्ठ सुनार, मानकुमार श्रेष्ठ, प्रेम प्रसाद खनाल, विश्व ज्योति मा.विका शिक्षक सुरेश महतो, देवचुली १५ वडा बाल सञ्जालका अध्यक्ष प्रतिक्षा काफ्ले, नगर बाल सञ्जालका सदस्य प्रशंसा काफ्ले लगायतको उपस्थिति रहेको थियो । तालिममा वडा भित्रका ७० भन्दा बढि बालबालिकाको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको सहजीकरण ह्याप्पी एफ.एमका समाचार शाखा प्रमुख एलिना के.सीले गर्नुभएको थियो ।