झण्डै एक वर्षअघि (५ मे २०२३) विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको थियो । यो घोषणासँगै विश्वले सन्तोषको सास फेरेको छ । कोभिड-१९ को लहरभरि नेपाल लगायत विश्वले आर्थिक, सामाजिक तथा मानसिक समस्याको अप्रत्यासित र दु:खद् सामना गर्नु परेको थियो । यद्यपि कोभिड पूर्णरुपमा बिलिन भएको वा हराइसकेको भने थिएन ।
सन् २०२४ सालको सुरुवातसँगै नेपालमा कोभिड-१९ ओमिक्रोन भेरियन्टको नयाँ सब-भेरियन्ट ‘जेएन १’ पुष्टि भएको थियो । तर यसको घातकता भने पहिलेका कोभिड लहरहरुको तुलनामा शून्यप्राय: देखियो । केही अगाडिसम्म फ्लु र कोभिड सँगसँगै देखिएको थियो, जसलाई यो लेखकले ‘फ्लुभिड’ भनेको थियो । तर अहिले अचाक्ली बढेको गर्मीसँगै कोभिड एक्लो तर थप सक्रिय हुँदै गइरहेको देखिन्छ ।
पछिल्लो केही दिन-हप्तादेखि बिरामीको संख्यामा देखिएको उकालो ग्राफले यही संकेत गरेको देखिन्छ । कोभिडको निश्चित सक्रिय हुने (बढ्ने) मौसम वा महिना स्पष्ट छैन अर्थात् विगतको अनुभवको आधारमा कोरोनालाई ‘मौसमी संक्रमण’ भनिहाल्ने आधार देखिंदैन । तर ओमिक्रोनको नयाँ सब-भेरियन्ट ‘जेएन १’ पुष्टि भएको लगभग तीन महिनापछि हाल अचानक किन कडा देखिंदै गइरहेको छ भन्ने प्रश्न भने खडा भएको देखिन्छ ।
पछिल्लो समय नेपाल विश्वकै एक वायु प्रदूषित देश पुष्टि भएको थियो र अहिले पनि यथावत् छ । वायु प्रदूषणबाट विभिन्न दीर्घरोग भएकाहरुमा जटिलता देखिन सक्ने उच्च जोखिम हुने गर्छ । कोभिडको महामारीको अवधिमा वैज्ञानिकहरुले कोभिड-वायु प्रदूषणबीच सम्बन्धको बारेमा पनि धेरै अनुसन्धान गरेका थिए ।
अनुसन्धानका नतिजाहरुले पीएम २.५ र पीएम १० सूक्ष्म कणले गर्दा कोरोना संक्रमितहरु उल्लेखनीय संख्यामा अस्पताल भर्ना हुनुपर्ने अवस्था आएको थियो । अर्थात् वायु प्रदूषणले कोरोना संक्रमितहरुमा थप जटिलता निम्त्याउने सक्ने भनेको हो । नेपाल विश्वको अति वायू प्रदुषित देश बन्दै गर्दा कोभिडका बिरामीको संख्यामा पनि अचानक वृद्धि हुनुले वायु प्रदूषणको कारण भएको हुनसक्छ । यो संयोग मात्र नहुन सक्छ । तसर्थ नेपाल वायु प्रदूषणबाट अत्याधिक आक्रान्त भएसम्म सम्भवत: कोभिडबाट अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय कमी हुने सम्भावना पनि कम देखिन्छ ।
नेपालमा सन् २०२४ सँगै ‘जेएन १’ पुष्टि भएपनि झण्डै तीन महिनासम्म कोभिडका बिरामी खासै देखिएको थिएन । विगतको अनुभवले कोरोना भाइरसमा स्वरुप परिवर्तन अर्थात् जिनमा हुने परिवर्तनले लक्षणमा पनि कडा वा नरम हुने गरेको देखिएको थियो । तसर्थ हाल कोभिड बिरामी बढ्नुमा पनि ‘जेएन १’ को जिनमा परिवर्तन भएको छ कि भन्ने आशंका गर्न सकिने ठाउँ छ ।
ओमिक्रोन भेरियन्टकै अर्को सब-भेरियन्टले ‘जेएन १’ लाई प्रतिस्थापन नगरेको नहोला भन्न पनि सकिंदैन, तर यसको पुष्टि गर्न भने जिनोम सिक्वनसिङ्गको नतिजा नै कुर्नुपर्ने हुन्छ । पछिल्लो पटक विशेषगरी कोभिडका बिरामी बढेपछि जिनोम सिक्वनसिङ्ग जानकारी भने छैन ।
कोभिडका फरक-फरक लहरहरुमा फरक-फरक उमेर समूहका मानिसलाई प्रभावित पारेको देखिएको थियो । पहिलो लहरमा वृद्ध र दीर्घरोगीहरु बढी प्रभावित थिए भने दोस्रोमा युवा उमेरका धेरै थिए । तेस्रो अर्थात् ओमिक्रोन लहरमा फेरि वृद्ध र दीर्घरोगीहरु नै बढी प्रभावित भए ।
पछिल्लो पटक गरिएको जिनोम सिक्वनसिङ्गले ओमिक्रोनको सब-भेरियन्ट ‘जेएन १’ पुष्टि भएकाले हाल कोभिडका बिरामी बढ्नुमा यही कारण रहेको अनुमान गर्न सकिन्छ । पछिल्लो महिना भर्ना भएका कोभिडका बिरामीहरु अधिकांश ६५ वर्ष माथिका थिए भने यो महिना लाग्दै गर्दा औसतमा ६३ वर्ष माथिका बिरामी बढी देखिन्छन् । यसबाट हामीले अहिलेको कोभिडबाट ज्येष्ठ नागरिकहरु नै बढी जोखिममा रहेको प्रष्टै देखिन्छ । यद्यपि जुनसुकै उमेरका पनि बिरामी भने हुनसक्छन् ।
पछिल्लो समय बढ्दो गर्मीसँगै कोभिड जस्तै लक्षणबाट ग्रसित हुनेहरु समुदायमा प्रशस्तै देखिन्छन् । कोभिड बढ्नुमा यही कारण भन्ने पुष्ट नभएपनि वृद्ध तथा दीर्घरोग भएकाहरुलाई भने कोरोनाले बढी प्रभावित पारेको वा अस्पताल भर्ना गराउने अवस्था सिर्जना गरेको प्रष्टै देखिन्छ । त्यसैले ६० वर्षमाथिका र दीर्घरोगीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिए चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ ।
साभार ः अनलाईनखबरबाट