देवचुली
वर्तमान अवस्थामा नेपालमा सहकारीहरूप्रति जनताको भरोसा र चासो गुम्दै गएकोमा सहकारीकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
शनिबार नवलपुरको दलदलेमा आयोजित मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक उत्सव समारोहमा बोल्ने सहकारीकर्मीहरुले नेपालका केही सहकारीहरुले जनताको हित विपरीत कार्य गरेको र त्यसको परिणाम स्वरूप सहकारी सञ्चालकहरु कानुनको दायरामा आउने क्रम सुरु भएकाले पनि सहकारीहरूप्रतिको विश्वास कम गर्न नहुने बताए।
मध्य नेपाल साकोसका अध्यक्ष तुलमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथ्यता नेफ्स्कुनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ढकालले नेपालमा सहकारीका लागि २०८० साल निकै कष्टकर भएको बताउनुभयो ।
उहाँले २०७२ सालको भूकम्प र कोभिड १९ को समयमा पनि सहकारीप्रति जनताको भरोसा नटुटेको बताउँदै २०८० सालमा सहकारीहरूमा धेरै प्रकारका अनैतिक क्रियाकलाप र सहकारी सञ्चालकहरूको अविश्वासपूर्ण काम कारबाहीले सहकारीप्रति जनताको भरोसा कम भएको बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै रजहर सेवा केन्द्रका संयोजक धनेश्वरी ढकाल, शुभकामना सेवा केन्द्रका संयोजक रेशमलाल चापागाईं, प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रुमकला काफ्ले, देवचुली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण गौतम, संस्थाका निवर्तमान अध्यक्ष मानसिंह खत्री, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सहसचिव नारायणप्रसाद पौडेल र संस्थाका पूर्व कोषाध्यक्ष एवं देवचुली नगरपालिकाका नगरप्रवक्ता एवं वडा नम्बर ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्लेले आफ्ना भनाइहरु राख्नुभएको थियो।
कार्यक्रममा संस्थाका निवर्तमान कार्यसमितिका पदाधिकारी लेखा समितिका पदाधिकारी र सेवा केन्द्र प्रमुखहरुलाई सम्मान समेत गरिएको थियो।
२६औँ वार्षिकोत्सव कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले संस्थाको वर्तमान प्रगति प्रतिवेदनसँगै संस्था परिचय र स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो।